Shittalpati
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग

रामचन्द्र रायमाझी
पाल्पा, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ । यही क्षेत्रमा धेरै यात्रुले ज्यान गुमाएका छन् भने कयौँ घाइते बनेका छन् ।

जोखिमयुक्त यो सडक खण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् । सडकको विकल्प नखोजिएको पनि होइन । तर कुनै बेला ठूला दुर्घटना या सडक बन्द हुन्छ, तब यो बेला मात्र विभिन्न विकल्पका बहस बाहिर आए । यसबीचमा यहाँ धेरै विकल्प अगाडि सारिए पनि काम हुन सकेनन् । विगतदेखि नै यस क्षेत्रबाट निर्वाचित सांसद तथा मन्त्रीहरुले वैकपिल्क सडकका विषयमा कुराहरु उठाए पनि कार्यान्वयन हुन नसक्दा यस सडक खण्ड भएर यात्रा गर्ने कयौं यात्रुहरुले सास्ती खेप्नुु पर्‍यो । केही वर्ष यता सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयले पनि चर्चा पायो । अन्ततः लुम्बिनी–पोखरा जोड्ने महत्वपूर्ण सडक भएकाले पनि सुरुङ नै समस्याको समाधान भएकाले अहिले निर्माण कार्य अगाडि बढेको छ । लामो समयको कसरतपछि निर्माण कार्य अगाडि बढेपछि भने सुुरुङमार्ग बन्ने निश्चित भएको हो । स्रोत व्यवस्थापन, ठेक्का प्रक्रिया सबै काम पूरा भएर निर्माण कार्य सुरु भएपछि अब समयमा पूरा हुन्छ वा हुँदैन भन्ने चासो बढेको छ ।

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । आयोजनाको डिजाइन तयार भएसँगै अहिले निर्माणको काम अगाडि बढेको हो । यहाँको सुरुङमार्ग पूर्वतयारीका लागि सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द गरी काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरी निर्माण कार्यलाई सहज बनाउने निर्णय गरेको हो । वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । समितिको बैठकले सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने निर्णय गरेको उनले बताए । सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना÷मझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । जसका लागि बैंठकले निर्माण व्यवसायीलाई उक्त सडकको आवश्यक मर्मत गर्न निर्देशन दिएको छ  ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल स्तरउन्नती गर्ने सहमति भएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम गरिरहेको छ । सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले बताए । सुरुङमार्ग निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । ठेक्का सम्झौता गरेको नौ महिनापछि कम्पनीले विस्तृत डिजाइन सडक विभागलाई बुझाएको हो ।

साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्वतयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउने लगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख एसीले बताए । निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ । अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ। ठेक्का सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ । भारत सरकारको सहयोगमा झण्डै ४९ वर्ष अगाडि निर्माणकार्य पूरा भएको पाल्पा जिल्ला भित्रपर्ने बुटवलको चिडिया खोलादेखि दोभानसम्म सात किलोमिटर अत्यन्त जोखिम युक्त सडकभित्र पर्दछ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update