Shittalpati
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार

पाल्पा, प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर सरकारले भव्य स्वागत गर्दैछ । तानसेन नगर सरकारले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीहरुलाई सम्मान तथा स्वागत गर्न लागेको हो ।

भोलि प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरुलाई सम्मानसँगै स्वागत गर्न लागिएको पत्रकार सम्मेलनमार्फत नगर सरकारका प्रवक्ता यादवसिं कार्कीले बताए । त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कार गरिने छ । उनीहरुलाई गुलाबको फुल खाजा, खाना तथा बासको व्यवस्थापन गरिएको छ । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमिति मार्फत् युगल जोडीहरूको भव्य स्वागतको लागि तयारी सकेको छ । जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फूल साटासाट गर्ने गरी सहभागी गराईने प्रवक्ता कार्कीले बताए । प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । प्रेमको प्रतीकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको नगर सरकारले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा नगर सरकार विश्वस्त छ ।

यस्तै तानसेन नगरपालिकाले जोडीलाई सम्मान गर्नेदेखि थुप्रै निर्णयहरु गरेको छ । कार्यपालिको १५ औं बैठकबाट करारका कर्मचारीको म्याद थप, रानीमहल दरबार परिसर भित्र इंगेजमेंन्ट र फोटोसुट गर्नेहरुका लागि पाँच हजार शुल्क निर्धारण, शाखा र वडाका लागि करारमा सेवा पदपूर्ति गर्ने, हेफर इन्टरनेशन नेपालसँगको लागत साझेदारीको कार्यक्रम रद्द गर्ने र स्थानीय कलासंस्कृतिको जर्गेना गर्न खाना महोत्सवका लागि आवश्यक सहयोग गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए । यसका साथै नगरपालिकाले अव्यवस्थित रुपमा निर्माण भएका राजमार्गको सडक सीमा क्षेत्रका घरटहराहरुबाट शुल्क उठाउनका लागि लगत संकलन गरेको र पाल्पा दरबार संग्रहालय परिसरका टहराहर हटाउनका लागि आवश्यक छलफल गरिरहेको समेत उनले जानकारी दिए । प्रवक्ता कार्कीले तानसेनको खानेपानी उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि छलफल भैरहेको, फोहरमैला व्यवस्थापनको काम निजी क्षेत्रले गर्दा नगरपालिकालाई घाटा लागेकोले सम्झौता रद्द गर्नका लागि आवश्यक अध्ययन भैरहेको समेत बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update