Shittalpati
तानसेनको असनमा नेवारी भोज आयोजना हुने

पाल्पा,जिल्लाको तानसेन नगरपालिका–३ असनटोलमा नेवारी भोजको आयोजना हुने भएको छ । नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ असनटोल विकास संस्थाको आयोजनामा फाल्गुन ५ गते नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना हुने भएको हो ।

विगतका वर्षहरुमा पनि टोल विकास संस्थाले ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व, सुन्दर तानसेन बनाउने हाम्रो कर्तव्य’, भन्ने मुख्य उद्देश्यका साथ नेवारी भोजको आयोजना गर्ने गरेको थियो । यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको टोलविकास संस्थाले जनाएको छ । नेवारी खानाका परिकार र नेवारी भोजको परम्परालाई निरन्तरता दिन एक दिवसीय भोज आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै टोल विकास सस्थाका अध्यक्ष अनुजा बज्राचार्यले खाना महोत्सवले नेवारी खानाको प्रचार–प्रसार र नेवारी संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् । उनले भनिन्,‘तानसेन बजार नेवारी संस्कृतिको प्रचुर सम्भावना बोकेको ठाउँ हो, यसको प्रचार–प्रसार र साँस्कृतिक तथा रहन सहन, भेषभुषालाई प्रचार गर्न यो कार्यक्रम सहयोगी बन्ने छ ।’ उक्त खानाको लागि प्रति ब्यक्ति ९ सयको कुपन लिनु पर्ने हुन्छ । उक्त खानामा २० भन्दा बढी प्रकारको परिकार रहने अध्यक्ष बज्राचार्यले बताइन् ।

उक्त भोजमा ४ सय जनाको सहभागीता रहने अपेक्षा आयोजकले लिएको छ । टोल विकास संस्थाका सल्लाहकार मदनलाल बज्राचार्यले नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा यस भोजले नेवारी संस्कृतिबारे अध्ययन गर्न समेत सहज हुने बताए । उनले नेवारी कला शैलीमा बनेको पुरानो साँस्कृतिक घरको बैगलमा बसेर नेवारी परिकारको स्वाद लिने र साँस्कृतिक कार्यक्रम, परम्परागत भेषभुषाका साथ संगीतमयी वातावरणको आनन्द लिएर यो कार्यक्रममा सहभागिता जनाउन सकिने बताए । पहिले पनि यस्तो खालको मेला गरेको जनाउँदै संस्थाका पूर्व अध्यक्ष सकुन्तला बज्राचार्यले नेवारी परम्परा र नेवारी खानाको बारेमा जानकारी सहित सांस्कृतिक कार्यक्रम र सम्मान समेत गरिने बताइन् । मेलाबाट बचत भएको रकम संस्थागत विकासमा लगाउने आयोजकले जनाएको छ । खाना सालको टपरीमा राखी पलेटी कसेर नेवारी संस्कृती अनुसार मर्यादा पूूर्वक खुवाइने संस्थाकी सचिव सुनिता थैवले बताइन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update