Shittalpati
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै

रामपुर (पाल्पा), रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मंगलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो ।

आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताइन् । ‘रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ’, उनले भनिन्, ‘गाउँमै पाएको सेवाले खुसी छौँ ।’ डा.सुनिलकुमार दासको नेतृत्वमा पहिलो पटक अस्पतालमा सो सेवाको थालनी भएको हो । जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा. दास यहाँ आएका थिए  । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उनको भनाइ छ । ‘एपेन्डिसाइटिसका बिरामी उपचार गर्न टाढा जानुपर्ने समस्या निराकरण गर्न सेवा सुुरु गरेका हौँ, शल्यक्रिया सफल भएपछि उत्साह बढेको छ’, डा. दासले भने । आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.विजय परियार बताउँछन् । पचास शैयाको अस्पताल निर्माण जारी छ ।

अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उनी बताउँछन् । अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवासमेत थालेको छ । एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र२०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् । अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहँु, नवलपुर (नवलपरासी सुस्तापूर्व) का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् । –रासस

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update