Shittalpati
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’

रामचन्द्र रायमाझी
पाल्पा, यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनुु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए । एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देही र ओपन सोसाइटी फाउन्डेशनले शुक्रबार तानसेनमा आयोजना गरेको स्थानीय सरकार र पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले तेस्रो लिङ्गीहरु पनि समाजका मान्छेहरु नै भएकाले सम्मानजनक रुपमा बाँच्न पाउनुुपर्ने बताएका हुन् ।

समूहका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदायहरुको वर्तमान अवस्था, ऐन कानुन, चुनौती र समाधानका विषयमा जानकारी गराउदै समाजमा मर्यादित जीवन जिउन पाउनु सबैको अधिकार भएको बताइन् । तेस्रो लिङ्गी समेत रहेकी उनले आफ्नो समुदाय माथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका समस्या सम्बोधनमा तीनै तहका सरकार र राजनीतिक दल उदासीन भएको गुनासो गरिन् । उनले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताइन् । न्यौपानेले महिला, पुरुषसरह तेस्रो लिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरिन् । नागरिकता लिन जाँदा ‘मेडिकल जाँच गरेर पहिचानसहितको रिर्पोट लिएर आउनु भनेर फर्काइने गरेको र अनावश्यक प्रश्नको सामना गर्नुपरेको गुनासो गरिन् ।’ राजनीतिक दल र तीनै तहका सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका समस्यालाई सम्बोधन गरिदिन उनले सरकारलाई आग्रह गरिन् ।

एक्लोलाई साहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले आफु तेस्रो लिङ्गी हुनुपर्दा भोगेका समस्याका बारेमा जानकारी गराउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू समुदाय घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँ लगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताइन् । तेस्रो लिङ्गीलाई ‘हिँजडा, छक्का’ जस्ता अपमानित शब्द प्रयोग गरी भावनामा चोट पुर्याउने र विभेद गर्ने गरिएको उनले गुनासो गरिन् । अहिले रुपन्देहीमा एक्लोलाई साहारा दिने वृक्ष समूहमार्फ तेस्रो लिङ्गीहरुको व्यवस्था गरिदै आएको अध्यक्ष रानाले बताईन् । उनले भनिन् ‘हामी कसैको छोराको विवाह, व्रतवन्धन हुँदा सांस्कृतिक कार्यक्रम गछौं त्यहाँबाट पाइने दक्षिणाबाट हाम्रो जीवन चलेको छ ।’ सन्तान रुदाँ आमा बुुबाको मन पनि रुनुुपर्ने भन्दै अध्यक्ष रानाले भनिन् ‘हाम्रो अभिभावक तथा बुुबा आमा भनेकै स्थानीय सरकार हो, त्यसैले हामी स्थानीय सरकार भएको ठाउँमा रुँदै आएका हौं ।’ स्थानीय सरकारले बजेटमार्फत हाम्रो समस्या र सम्मानको सम्बोधन गर्नेमा उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न नसकेको गुनासो गरे । तेस्रो लिङ्गी समेत रहेका उनले नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकमा मानसिक समस्यासमेत देखिने गरेको बताए । ‘तेस्रो लिङ्गी पनि यही समाजका मान्छे हुन्,’ उनले भने, ‘त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाच्न दिनुपर्छ ।’ अधिकारकर्मी बिसीले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भने्, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्दछ ।’स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न पनि उनले स्थानीय सरकारलाई आग्रह गरे ।

तेस्रो लिङ्गी तथा अधिकारकर्मी अवन्ती घर्ती मगरले तेस्रो लिङ्गीहरु समाजमा अपमानित भएर बस्न नपरोस् र उनीहरु खुलेरै आफ्नो अधिकारका विषयमा बोल्न सकुन् भनेर नै सरोकारवाला निकायसँग छलफल र अन्तक्र्रिया गर्दै आइएको बताइन् । उनले अझै पनि समाजमा तेस्रो लिङ्गीहरु खुलेर आउन नसकेको भन्दै उनीहरुलाई समाजमा सम्मानजनक रुपमा हेर्ने दृष्टिकोणको वातावरण सिर्जना गरिदिन स्थानीय सरकार र पत्रकारहरुलाई आग्रह गरिन् । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले तेस्रो लिङ्गीहरुको समस्याप्रति आफु अनविज्ञ रहेकाले छलफलबाट धेरै कुराहरु सिक्न पाइएको भन्दै आगामी दिनमा अल्पसंख्याहरुको लागि पनि स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाए । उनीहरुले तेस्रो लिङ्गीहरुले खोजेको सम्मान र अपेक्षालाई सम्बोधन गर्ने दिशामा आफुहरु गम्भीर बन्ने बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका १ का वडा अध्यक्ष सुनिल बस्याल, नेपाल परिवार नियोजन संघ पाल्पाका सहायक क्लिनिक लेखनाथ ढकाल लगायतले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update