Shittalpati
सञ्चार माध्यमहरुको अनुगमन प्रभावकारी बनाउन काउन्सिल अन्तर्गतका शाखा प्रमुखहरुलाई निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विद्युतीय एवं छापा सञ्चारमाध्यमहरूको अनुगमन प्रभावकारी बनाउन र छापा तथा अनलाइन पत्रकारिताले झेल्नुपरेका समस्या सल्टाउने उपायसम्बन्धी सुझाव पेश गर्न काउन्सिल अन्तर्गतका शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार बसेको कर्मचारी बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले हरेक दिन अनुगमन रिपोर्ट प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेश गर्न, वेवसाइट नियमित अपडेट, काउन्सिलका प्रकाशनको तयारी, हालै प्राप्त बजेट, स्क्यानर मेशिन खरिदलगायत तोकिएको काममा सदुपयोग गर्न र जनशक्तिलाई चलायमान बनाउन उनले निर्देशन दिएका हुन । यतिबेला मिडिया अनुगमनको कठिनतम काममा खट्नेमध्ये उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने समेत उनले बताए ।  प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले नियमित तालिकाअनुसार अनुगमनलगायत प्रशासनिक काम भैरहेको, कोरोना राहत कोषमा पदाधिकारी तथा कर्मचारीको तलवबाट १ लाख ३५ हजार जम्मा गरिएको, कोरोना प्रभावलाई मध्यनजर गर्दै सावधानीपूर्वक अनुगमनलगायत कामहरू सञ्चालन भैरहेको बताए ।

सहप्रशासकीय अधिकृत दीपक खनालले अनुगमन नियमित भैरहेको हुँदा सामाजिक सञ्जालहरूबाट अफवाहमा कमि आएको उल्लेख गरे ।
उपप्रशासकीय अधिकृत रामशरण बोहराले चैत १० देखि २७ गतेसम्मको अवधिमा अतिरञ्जित, अफवाहपूर्ण, भ्रामक सामग्री प्रकाशन, प्रसारण गर्ने ५५ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण, सचेत गराउँदै स्पष्टीकरण सोधिएको, दर्ता नभई सञ्चालित २५ वटा वेवसाइट र एउटा युट्युब च्यानललाईसमेत नेपालमा प्रसारण हुन नसक्नेगरी व्यवस्था मिलाइएको जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update