
पाल्पा, तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद गैरेले वर्तमान शिक्षा गुणस्तरी र व्यवहारिक बन्न नसकेको बताए । उनले शिक्षा नीति परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको भन्दै आफुले यस विषयमा संसदमा कुरा उठाउने समेत बताए । सांसद् गैरेले भने ‘अहिलेको शिक्षा बेरोजगारी उत्पादन गर्ने माध्यम मात्र भयो, यसलाई व्यवहारिक र जीवनपयोगी बनाउनुपर्छ ।’ आफू पनि यस विद्यालयको पूर्व अभिभावक भएकाले सधँै विद्यालयको शैक्षिक गुणस्तरमा आफ्नो ध्यान जाने बताए । विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा पाल्पा क्षेत्र नं. २ (क) का सांसद वीरबहादुर रानाले शिक्षालाई सीपमूलक र व्यवहारिक नबनाउँदा सम्म मुलुकको आर्थिक समृद्धि हुन नसक्ने भन्दै गुणस्तरीय, सीपयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्ने दिशामा तीनै तहका सरकारले गम्भीर भएर सोच्ने बेला आएको बताए । प्रदेश सांसद रानाले भने ‘अहिलेको अव्यहारिक शिक्षाले बेरोजगारी मात्र उत्पादन ग¥यो अब शिक्षा नीतिमै परिमार्जन गरी व्यवसायिक, सीपमूलक र गुणस्तरी शिक्षा प्रदान गर्न सम्पूर्ण विद्यालय र सरकार लाग्नुको विकल्प छैन ।’
मुलुकमा दुई थरी शिक्षा भएकाले निजी र सरकारी विद्यालयको तलब मान फरक हुनु अन्याय भएको समेत उनले बताए । तलवमानमा समानता ल्याउनुुपर्नेमा उनले जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, न्यू होराइजन आवासीय मावि बुटवलका प्राचार्य लोकनाथ उपाध्याय, तानसेन नगरपालिका ७ का वडा अध्यक्ष प्रदिप खनाल, नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, अभिभावक दिपक तिमिल्सिना, विद्यार्थी हरिरिया बस्याल र वोजस्वी आचार्य लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यायालयमा पाँच वर्षदेखि तीस वर्ष सेवा अवधी पुगेका शिक्षक, कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । स्कूलले ३० वर्ष अवधि पुरा गरेका विद्यालयका प्राचार्य डाँसुराम पन्त, पूर्व प्राचार्य भेषराज सुवेदी, लेखापाल राजेन्द्र लिगल र सह–लेखापाल सुमित्रा शर्मा सहित ५७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा स्काउट र टाइकाण्डोको टोलिले प्रदर्शन र शिक्षक विद्यायार्थीहरुले तयार गरेको नृत्य समेत प्रस्तुत गरिएको थियो । प्रिन्सिपल डाँसुराम पन्तको विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकोलको अध्यक्षता, सहायक प्रिन्सपल चन्द्रकान्त न्यौपानेको स्वागत र विद्यार्थी कृशला ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।