Shittalpati
कस्तो नेपालको सत्ता राजनीति ?

दुर्गाप्रसाद अर्याल
कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ । जनताको साशन व्यवस्था भनिएको गणतन्त्रमा पनि यो कुराले निरन्तरता पाईरहनुलाई भने त्यति राम्रो मान्न भने पक्कै सकिदैन । सत्ता राजनीतिक खेलले नेपालीको जीवन अस्थिरता र सत्ता परिवर्तनकै खेल हेरेरै जाने त हैन ? प्रश्न चिन्ह उत्पन्न गराएको छ । व्यवस्था परिवर्तनले मात्रै होइन यहाँ सत्ताका लागि धेरै पटक सरकार परिवर्तनको खेलले विश्वमै विशिष्ट पहिचान इतिहासका पन्नामा लेखाई सकेको छ । कहिले कहाँ सत्ताको लागि के राजनीतिक घटना घट्दछ यहाँ हामी कल्पना पनि गर्न सकदैनौ । दुई तिहाईको एकल सरकार तहसनहस भएको घटना हाम्रो आँखा अगाडि ताजा नै छ । यसैसँंग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिभचर्चा गर्ने प्रयास गरिएको छ ।

चुनावमा आफु अनुकुलको परिणाम ल्याउनका लागि गठबन्धनको खेल खेलेका राजनीतिक दलहरुले चुनावको परिणाम आउँदा नआउदै आफूलाई सत्ता र शक्तिमा केन्द्रीत गरेको देखिन्छ । सत्ता र शक्तिका लागि इमान र नैतिकतालाई नै गुमाउन सक्ने राजनीतिक दलका नेतृत्वकर्ता देख्दा नेपाली जनतामा भने लज्जाबोध भएको देखिन्छ । आफु अनुकुल नहुँने वित्तिकै विदेशी शक्ति केन्द्रलाई दोष दिने तर आफ्नो व्यवहार भने देश र जनताका लागि होईन सत्ताका लागि केन्द्रीत गर्ने नेतृत्व कर्ताको यहाँ अभाव देखिदैन । पछिल्लो समयको गठबन्धनका नामका खेल , सरकार निमार्ण र प्रचण्डको गतिशिलताले नेपाली नेतृत्व कर्ताको एउटै उद्देश्य जसरी पनि सत्तामा पुग्नु नै रहेको सजिलै विश्लेषण गर्न सकिन्छ ।

सधै सत्तामा आफु मात्रै बसौं भन्ने विचार भएका, सत्ता हस्तान्तरणमा अनुदार देखिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका कारण नेपालको राजनीतिक वृत्तमा नेपाली जनताले फेरि अच्चम मान्दै सत्ता केन्द्रीत नेपालको राजनीतिलाई हेर्ने मौका पाए भने देउवाको अडानको कारण के पी ओलीको गैर संवैधानिक संसद बिघटनबाट नदीका दुई किनारा जस्तै बनेका प्रचण्ड र के पी ओलीलाई फेरि एकै ठाँउमा ल्याईदिएको देखिन्छ । यसको एउटै कारण जसरी पनि सत्तामा पुग्ने कुरानै रहेको देखिन्छ भने म मात्रै सत्तामा र महिले मात्रै खानु पर्दछ भन्ने देउवाको पार्टी भित्रको एकल अडानलाई सत्ता परिवर्तनको राजनीतिले नराम्रोसँग सवक सिकाइ दिएको देखिन्छ । दुई तिहाईको सरकार र तत्कालीन नेकपालाई धोस्त पारेका केपी ओली सत्ता गठबन्धन जसरी पनि भत्काउनु थियो । यसो नगरेमा नेकपा एमाले सत्तामा जान वर्षौ कुर्नु पर्ने अवस्था थियो  । यसका लागि उनले एकातिर शेरबहादुर देउवासँग र अर्को तर्फ प्रचण्डसँग दोहोरो भूमिका खेलिरहेका थिए भने प्रचण्डलाई जसरी पनि सत्तामा जानु थियो जसको परिणाम स्वरुप नयाँ सत्ता राजनीतिको खेलको सुरुवात भएको देखिन्छ । यस खेलले एकातिर माओवादीलाई सत्तामा पु¥यायो भने अर्को तर्फ राजनीतिमा स्थायी शत्रु र मित्र कोही नहुने भन्ने कुरालाई चरितार्थ गरिदिएको देखिन्छ । जनमानसले प्रचण्डको गतिशिलतालाई लिएर भन्ने गरेका छन् राजनीतिमा लाज, इमान्दारीता र नैतिकता भन्ने हुँदो रहेन्छ । हामी तल्लो स्तरका कार्यकर्ता किन राजनीतिक विचारलाई लिएर विवाद गर्नु, समाज विकासका लागि दल त्याग गरेर अगाडि बढ्न जरुरी छ । सत्ता प्राप्तीका लागि एकातिर नेपालका राजनीतिक दलले जे पनि गर्न सक्छन् भने अर्को तर्फ राज्यमा स्थिरता उत्पन्न नहुनुको मुख्य कारण पनि यहि नै हो । सत्ताका लागि एउटा राजा फालेर संयौ राजा स्थापित गरि राज्यलाई व्ययभार अत्याधिक वृद्धि गर्दै लईरहेका छौं । राज्यको पुर्न संरचनाका नाममा जनतालाई करको भारी थपिदिएका छौ तर सत्ता केन्द्रीत राजनीतिलाई भने केन्द्रमा मात्रै होइन प्रदेशसम्म पु¥यादिएको देखिन्छ ।

सत्ता केन्द्रीत राजनीति र अस्थिरताका लागि राजनीतिक दल भित्रका गुट उपगुट र सल्लाहकारको भूमिका पनि सक्रिय रहेको देखिन्छ । यही सक्रियताले नेपालको राजनीतिलाई अन्योल र अस्थिरतामा वृद्धि गर्दै लगेको देखिन्छ । यसका साथै पछिल्लो निर्वाचनपछि थपिएका स–साना राजनैतिक दलहरुले पनि नेपालको राजनीतिमा थप अस्थिरता निम्त्याउन सक्ने सजिलै अनुमान गर्न सकिने देखिन्छ । स–साना धेरै राजनीतिक दललाई समावेस गरेर सरकार बनाउनाले यसले सरकारलाई स्थिर रुपमा सञ्चालनमा बेला बेलामा समस्या थपिदिन सक्दछ भने सरकारमा सामेल भएका सबै दलका कुरा सुन्दा सुन्दै सरकारले गति दिन पनि नसक्ने हो की ? आशंका भने उत्पन्न गराएको देखिन्छ । सरकार टिकाउनका लागि गैर कानुनी तथा राष्ट्रहित विपरीतका कार्य विगतमा जस्तो नहोला भन्न पनि सकिदैन् । फरक–फरक राजनीतिक विचार र उद्देश्य भएका राजनीतिक दलहरुलाई मिलाएर सँगै सरकारमा लैजानु प्रधानमन्त्रीका लागि त्यति सरल र सहज देखिदैन् । यसले सरकारको कार्य गतिमा अवरोध सिर्जना गरी फेरि पनि प्रचण्ड सरकारले विगत जस्तै जनतामा निराशा उत्पन्न नगराउला भन्न सकिदैन् ।

काठमाडौंका मेयर बालेनले भने जस्तै राजा मार्ने ,फाल्ने र राख्ने बिचको अनौठो संयोग र मिलनलाई देश र जनताको हितका लागि नै भएको भनेर भन्न सकिने अवस्था देखिदैन । सरकारमा सामेल हरेक राजनीतिक दलको आ–आफ्नै स्वार्थ र शर्त रहेको देखिन्छ । जनतालाई पहिलो प्राथमिकता भनिएता पनि सबैको एउटै स्वार्थ सत्ता प्राप्ती नै रहेको देखिन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिनुलाई जनमानसमा अर्थ पूर्ण रुपले हेर्ने गरेको देखिन्छ । कतै सरकार सञ्चालनको क्रममा यस कार्यले थप अस्थिरता उत्पन्न गराउने त होइन प्रश्न उत्पन्न गराएको देखिन्छ । विश्वासको मत दिनुले काग्रेसमा पनि सत्ता मोह वा केहि स्वार्थ लुकेको देखिन्छ । यसको खास कारण के हो भविश्यले पक्कै देखाउने नै छ । जे जुकै भएता पनि सरकार र राजनितिक वृतमा अस्थिरता ल्याउनमा केन्द्रीत नहोस् यहि कामना गरौं । सिद्धान्त शूून्य राजनीतिक साठगाठले नेपालका राजनीतिक दललाई सत्तामा नै केन्द्रीत गराएको देखिन्छ । सिद्धान्त र राजनीतिक विचारलाई व्यवस्था गर्दै सरकारमा सामेल भएका राजनीतिक दलहरुको मुख्य उद्देश्य जनता र देश हितमा केन्द्रीत नै हुनुपर्दछ । भाषण लगायत हरेक बोलीमा जनताका लागि साशन गरेका हांै भन्ने राजनीतिक दलका नेतृत्वले यसलाई व्यवहारमा परिणत गर्न सकुन् । सिमित स्वार्थ पूर्तिका लागि सरकार परिवर्तन र राजनीतिक अस्थिरता सिर्जना गर्ने कार्य कहि कतैबाट हुनुहँुदैन । सरकार बाहिरको ठूलो शक्ति नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्दछ । देश,जनता र विश्वलाई नै अचम्म पार्ने सत्ता केन्द्रीत अपाच्य कार्य कहि कतैबाट नहोस् । केन्द्र तथा सात वटै प्रदेशका सरकारहरु देश र जनताको हित हुने कार्यमा निरन्तर लागुन । विधि र सुशासनको प्रत्याभूति जनताले अनुभुति गर्न पाउन यहि कामना गरांै । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update