Shittalpati
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन

गुल्मी, गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् । जिल्लालाई बुटवलसँग जोड्ने गौरवको आयोजनाको रुपमा रहेका यस सडक खण्डलाई सम्पन्न गर्न पटक–पटक चासो देखाउँदै आएका नगरप्रमुख पन्थीले निर्वाचित भएलगतै अनुगमन गरेका हुन् ।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख ईन्जिनियर सागर मरासिनीले नगरप्रमुख पन्थीलाई सडक खण्डको बारेमा जानकारी गराएका थिए । नगरप्रमुख पन्थीले यो सडक खण्डको जानकारी लिदैं सडकलाई स्तरोन्नती गर्नका लागि निरन्तर पहल गर्ने बताए । उनले सडक खण्डलाई शीघ्र सम्पन्न गर्न पहल गर्ने बताउँदै जिल्लाका नागरिकहरुलाई द्रुतरुपमा सडकको सुविधा प्रदान गर्ने जानकारी दिए । प्रमुख पन्थीले भने ‘हामीले निरन्तर रुपमा गुल्मेली जनतालाई वैकल्पिक मार्गको रुपमा रहेको यस सडक खण्डलाई सम्पन्न गर्न निरन्तर पहल गरिरहेका छौं । साथै सिद्धबाबा सडक खण्डको विकल्प नहुँदा अकालमै गुल्मेली जनताले ज्यान गुमाउन परिरहेको छ ।’ यस सडक खण्ड छिट्टै सञ्चालनमा ल्याई गुल्मेली जनतालाई सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउने दाबी गर्दै यस सडकखण्डलाई कालोपत्रे गरेर ढाई घण्टामा तम्घास–बुटवलको यात्रा सहज बनाउने बताए । जिल्लाको विकास, समृद्धि र पर्यटनसँग जोडिएकाले पनि यो सडकको निकै महत्व रहेको जानकारी दिए । सालझण्डी–पटौटी–खज्र्या–तम्घास सडक खण्ड २०७० सालमा निर्माण कार्य शुभारम्भ भएको हो । संविधानसभा सदस्य डा.चन्द्र भण्डारीको पहलमा यो सडक खण्ड निर्माणको कार्य शुरु भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update