Shittalpati
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी

पाल्पा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।
तयारी पूरा भएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहित गण्डकी प्रदेश अन्तर्गतका केही जिल्लामा कामदार उक्त विमानस्थलबाट उड्न सक्ने छन् । भैरहवामा वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको छिट्टै विस्तार गर्ने मन्त्रालयको योजना छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकै दिनदेखि जजिरा एयरवेजले कुवेत भैरहवा व्यवसायिक उडान गरिरहेको छ भने खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने संस्था लगायत काठमाण्डौ नै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाण्डौ आउन पर्ने बाध्यता छ । तर विमानस्थल सञ्चालनमा आएसँगै श्रम मन्त्रालय आवश्यक सेवा प्रदानका लागि प्रबन्ध गर्न तयारीमा जुटेको हो । वैदेशिक रोजगार ऐन २०४२ आएपछि नेपालमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने क्रम शुरु भएको हो । त्यसयता नेपाली कामदार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । तयारी पुरा भएमा वैदेशिक रोजगारको ३५ वर्ष लामो ईतिहासमा नयाँ मोड आउने छ ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update