Shittalpati
अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि  सरोकारवालाको चासो

रामचन्द्र रायमाझी

पाल्पा । तानसेनमा अव्यवस्थित पार्किङ्ग र सडकलाई व्यवस्थित गरिने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजारका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने, सडकपेटी र सडक छेउमा पसलहरु राख्नले नगर क्षेत्र नै कुरुप देखिन थालेपछि यसलाई व्यवस्थित गर्न थालिएको हो ।

लामो समयदेखि नै तानसेनमा ट्राफिक व्यवस्थापन हुन नसक्दा नगर क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । बजार क्षेत्रमा खुल्ला पार्किङ्ग गर्ने स्थानको अभावमा ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको हो । अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्ग र सडक पेटीमा पसलहरु सञ्चालन हुँदा नगर क्षेत्र अस्तव्यस्त बन्ने क्रम बढेपछि जिल्लाका सरोकारवालाहरुले बल्ल चासो देखाएका छन् । विहीबार तानसेनमा बसेको सरोकारवालाहरुको बैंठकले अव्यवस्थित पार्किङ् र सडकलाई व्यवस्थित गर्ने विषयमा चासो देखाएका हुन् । पार्किङ्ग र सडक व्यवस्थित बनाउने विषय यस अघि पनि नउठेको भने होइन, तर ठोस योजना र कार्यान्वयन हुन नसक्दा तानसेन बजार अव्यस्थित बन्दै गएको हो ।

तानसेनका साना व्यापारीहरुले सडक पेटी नै हड्पेर पसल सञ्चालन गर्दै आएका छन् । त्यत्ति मात्र होइन सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था अगाडिका सडकपेटी र सडक छेउ नै सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

विहीबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले तानसेन नगर सरकारले सात दिनभित्र पार्किङ्ग स्थलको निर्धारण गर्ने र मर्मतसंभार गर्ने निर्णय गरेको छ । नगरपालिकाले नै पार्किङ्ग स्थलको व्यवस्थापकीय कार्य समेत गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै बैठकले पाल्पा उद्योग वाणिज्य संघ र व्यापार संघ, पाल्पाले आफ्नो सदस्यहरुलाई पसल अगाडि अनाधिकृत रुपमा सामान नराख्न तथा पार्किङ नगर्नका लागि ३ दिनभित्र पत्राचार गर्ने निर्णय गरेको छ ।

नगर प्रहरी, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कर्यालयको संयुक्त टोली बनाई यही ७ गतेदेखि बजारमा राखेका अनाधिकृत सामानहरु र पार्किङ गरिएका सवारी साधन सम्बन्धी अनुगमन गरी कानुनी प्रक्रियामा जाने निर्णय भएको छ । यस्तै सवारी साधनहरु एक तर्फी जान आउन ट्राफिक चिन्हहरु राख्न,जेब्रा क्रसिङ, पार्किङ्गको व्यवस्था साथै अन्य सुधारका लागि अध्ययन गरी तानसेन नगरपालिकाको अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी न्यौपाने, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रहरी प्रमुख सन्तोषकुमार भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका उपाध्यक्ष थानेश्वर गैरे, ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update