Shittalpati
वर्षाको सम्भावना

पाल्पा, आगमी दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको हो ।
पश्चिमी वायुका कारण सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना रहेको छ । हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिएको छ । आइतबार साँझदेखि नै मौसममा केही असर परेको देखिएको छ । बढी असर पश्चिमी क्षेत्रमा पर्ने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा जनाइएको छ । आज प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update