Shittalpati
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’

पाल्पा । प्रायजसो रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्ले यतिबेला पिरतीको नसामा देखिएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्ले ‘पिरतीको नसा’ लोकदोहोरी गीतको पर्दामा देखिएका हुन् ।

काफ्लेको स्वर, लय, शब्द सिर्जना र अभिनयमा रहेको लोकदोहोरी गीत ‘पिरतीको नसा’ बजारमा आएको छ । योग्सना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट गीत बजारमा आएको हो । बहुप्रतिभाका धनी काफ्ले र स्याङ्जाकी धनि गाहाको स्वरमा सजिएको यो गीत शुक्रबार सार्वजनिक गरिएको छ । यस अघि रुपै हेर्ने ऐना, गुन, पहिलो माया गुमाए जस्ता गीतमा आफ्नो लय, शब्द तथा स्वर दिइसकेका काफ्लेले पिरतीको नसामा कर्णप्रिय स्वर दिएका छन् ।

पिरतीको नशा गीतको छायांकन पाल्पाको रानीमहल आसपास र भैरवस्थान मन्दिर आसपासमा गरिएको छ । यस गीतको म्युजिक भिडियोमा दिनेश काफ्ले, खुसी सुनार र रमेश आचार्यले अभिनय गरेका छन् । सञ्चारकर्मी काफ्लेले आफुलाई माया गर्ने मान्छेले छोडर जाँदाको पीडालाई शब्द मार्फत व्यक्त गरेका छन् ।

विहादी गाउँपालिका ६ जामुने पर्वतमा काफ्ले परिवारमा जन्मिएका उनी २०७४ सालमा पाल्पा आएका हुन् । अध्ययनसँगै रेडियोमा आवद्ध काफ्ले बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्ने र घर परिवारको प्रेरणाले यस क्षेत्रमा लागेको बताउँछन् । सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफुलाई यस क्षेत्रमा अब्बल बनाउँदै आएका उनले तानसेनबाट सञ्चालित युनिक एफएममा विगत ३ वर्षदेखि लोकसांगीतिक कार्यक्रम चलाउदै आएका छन् ।

नेपाली साँगीतिक बजारमा नव कलाकारहरुलाई टिक्न गाह्रो भइरहेको समयमा निकै संघर्षपूर्ण समय व्यतित गर्दै यो गीत बजारमा ल्याइएको एनजेडीसँगको कुराकानीमा नवगायक काफ्लेले बताए । उनी भन्छन्– ‘सांगीतिक क्षेत्रमा लगनशिलता, परिश्रम र धर्यता भए सफलता प्राप्त गर्न सकिन्छ ।’ काफ्लेले सानो उमेरदेखि नै यस क्षेत्रमा लाग्ने रुची रहेको र घर परिवारको सहयोग र समर्थनले गर्दा नै आफु यस क्षेत्रमा लागेको बताए । उनले छिट्टै नै अर्को लोकदोहोरी गीत बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए । (हेर्नुस् यो गीतको भिडियो...)

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update