Shittalpati
खिर खाएर मनाइयो साउने पन्ध्र

पाल्पा, आइतबार घर घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाएर यो पर्व मनाइएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण सबै जमघट भई साउने पन्ध्र मनाउन नपाएकाहरुले यस वर्ष भने उत्साहजनक रुपमा मनाएका छन् ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने चलन प्राचीन कालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिने भएकाले इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको पुराना बूढापाहरुको भनाई छ । साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले पनि खिर लगायत मिठाइ विधिपूर्वक चढाइन्छ । नेपाल भन्दा बाहिर बस्ने नेपालीहरुले पनि यस दिन खिर खाएर साउन पन्ध्र मनाएका छन् ।

अधिकांशले परिवारसँग बसेर खिर खाँदै रमाइलो गरेका तस्वीरहरु सामाजिक सञ्जालमा समेत पोष्ट गरेको देखिन्छ । अहिले कोरोना महामारीको अवस्था केही सहज भएकाले पनि धेरैले यस वर्षको साउन पन्ध्रलाई रमाइलो गरी मनाए । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि यो खाने प्रचलन रहेको हो । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेर गएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले समेत साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update