Shittalpati
पाल्पामा पाक्यो जापनीज प्रजातिको सुन्तला !

रामचन्द्र रायमाझी
पाल्पा । कात्तिक, मंसिरमा सुन्तला पाक्नु त स्वाभाविक नैं हो । तर, भदौ असोजमै सुन्तला पाक्यो भन्ने कुरो अचम्मको हो । हो यस्तै भएको छ पाल्पा जिल्लामा पनि । कात्तिक, मंसिरमा पाक्ने सुन्तला भदौ, असोजमै पाकेर अचम्मै भएको छ । यहाँ सुन्तला जात फलफुल विकास केन्द्र पाल्पाको फर्ममा सुन्तला पाकेर लटरम्म भएका छन् । बर्खायाम सकिनसक्दै यहाँ भदौ, असोज महिना मै सुन्तला पाकेका हुन् । फर्मको अध्ययन अवलोकनका लागि आउने जो कोही पनि बेमौसमी सुन्तला पाकेको देख्दा दंग छन् । साना बोट, ठूला दाना, स्वादिलो भएको सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेको र पाकेका छन् । यहाँ ४५ वटा बोटमा जापानीज ओकीचुवासे प्रजातीको सुन्तला भदौको अन्तिम हप्तादेखि पाक्न सुरु गरेको वरिष्ठ बागवानी अधिकृत बोमबहादुर थापाले बताए । उनका अनुसार पाल्पाको हावापानीमा यो सुन्तला अत्यन्त राम्रो हुन्छ । भदौको अन्तिम सातादेखि पाक्न सुरु गरि कात्तिकको दोस्रो हप्तासम्म यो प्रजातिको सुन्तला रहने अधिकृत थापाले बताए । नेपालको बागवानी तथा फलफूलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो ।

जापानी स्वयम्सेवकहरुले यो प्रजातीको सुन्तला २०४४/०४५ सालमा भित्र्याएको भएपनि पाल्पामा विगत १० वर्षदेखि परीक्षणको रुपमा लगाइएको र सफल भएको थापाले बताए । योे सुन्तला मध्य पहाडी क्षेत्रमा व्यवसायिक खेती गर्न सकिने प्रजातिको फल हो । अन्य प्रजातीका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समय मै उत्पादन लिन सकिन्छ । समुन्द्री सतहदेखि ९ सयदेखि १८ सय मिटरको उचाइमा यसको व्यवसायिक खेती गर्न सकिने भएकाले यो सुन्तला पहाडी जिल्लामा सफल हुने प्राविधिकहरु बताउँछन् । अम्लियपन नहुने, चिनीको मात्रा अत्यन्त कम भएकाले जस्तो सुकै बिरामीका लागि पनि यो सुन्तला फाइदाजनक मानिन्छ । लगाएको तीन वर्षबाटै उत्पादन लिन सकिने हुँदा यो प्रजातिको सुन्तला व्यवसायिक कृषकहरुका लागि समेत लाभदायिक देखिन्छ । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । त्यसमा अधिकाश स्थानीय जातका रहेका छन् । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ । कृषकहरुबाट यो प्रजातिको सुन्तलाको व्यवसायिक खेती अहिलेसम्म भएको छैन । जिल्लामा सरकारबाट सिफारिस भएको र परीक्षणकै क्रममा थियो । अहिले यो व्यवसायी सफल भएको छ । प्रायजसो सबैै मध्य पहाडी क्षेत्रका जिल्लामा सफल भयो अब यसको अन्तिम मान्यता प्राप्त गर्नका लागि सम्बन्धित निकायमा पठाउने र आगामी वर्षसम्म यसको नतिजा आउने वरिष्ठ बागवानी अधिकृत बमबहादुर
थापा बताउँछन् ।


प्राविधिकहरुका अनुसार (ओकीचुवासे) प्रजातिको सुन्तला ७ किसिमको मध्य यो प्रजातिको मात्र सफल रुपमा उत्पादन लिन सकिने भएको छ । असोज महिना मै बोटभरी लटरम्म सुन्तला पाकेको देख्दा दंग परेको फर्मको अवलोकन गर्न पुगेका प्रदेश सांसद पुरनमान बज्राचार्यले बताए । उनले फलफूल खेतीको क्षेत्र विस्तारका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिए । फरक स्वाद, अम्लियपन नभएको, चिनीको मात्रा अत्यन्त कम जस्तो बिरामीले पनि खान हुने, बिया रहितको, तीन वर्षबाटै उत्पादन लिन सकिने १ सय ५० देखि ३ हजार ग्राम तौलसम्म फल लाग्ने यो प्रजातिको सुन्तला कृषकहरुका लागि बहुउपयोगी रहेको फर्मको अवलोकन गर्न पुगेका अर्को प्रदेश सांसद वीरबहादुर रानाले बताए ।

जिल्लाका अधिकांश क्षेत्रफलमा स्थानीय जात सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै स्थानीय भन्दा अगाडि नै उत्पादन लिन सकिने भएको र मध्य पहाडी क्षेत्र मै यसको खेती गर्न सकिने बागबानी विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाले बताउन्छन् । यो प्रजातिको सुन्तला जिल्लामा पहिलो होमस्टे भएको गाउँ बौघागुम्वामा लगाइएको छ । यो जातको सुन्तलालाई व्यवसायिकरण गर्नतर्फ सरकारले पहल गर्ने हो भने कृषकहरुको आर्थिक विकासमा थप सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update