Shittalpati
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै

पाल्पा । तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए । ‘डबली निर्माण भएपछि पाल्पाका साँस्कृतिक विशेषताहरु झल्को दिने जात्रा, मेला महोत्सव, नाँचगान समेत यहाँको डबलीबाट प्रदर्शन हुनेछ’, उनले भने । डबली ५ सय मानिस अट्ने क्षमताको हुनेछ । पाल्पा कला, संस्कृतिको धनी जिल्ला हो । पाल्पामा आधाभन्दा बढी मगर जाति बस्ती छ । तानसेनमा नेवार समुदायको बाक्लो बस्ती पनि छ । पाल्पामा अधिकांश जनजातिको बाहुल्यता रहेको र उनीहरुले कला, संस्कृति प्रदर्शन गरिरहेका हुन्छन् । अब पाल्पाका सबै संस्कृति यही डबलीबाट प्रदर्शन हुने स्थानीय वासीको दाबी छ । यस डबलीको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालनले यस क्षेत्रमा थप चहलपहल ल्याउनेछ ।

तानसेनको पर्यटकीय क्षेत्र रानीमहल र श्रीनगर यही हुँदै जान सकिन्छ । बन्दाबन्दीको अवस्थामा आयोजनाको काम धमाधम भइरहँदा सम्झौता अवधिमा नै काम सम्पन्न हुने रेन्जर पोखरेलले बताए । प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँका साइट इन्जिनियर रोशन विष्टले ६५ प्रतिशत आयोजनाको काम पूरा भएको बताए । डबलीका लागि टिकट काउन्टरका लागि भवन, सभाहल, शौचालय लगायत काम भइरहेको इन्जिनियर विष्टले बताए । वि.सं २०७६ असार ८ गते सम्झौता भई असार १५ गतेदेखि आयोजनाको काम शुरुआत भएको थियो । डबली निर्माणका लागि प्रदेश नं ५ को सात करोड १६ लाख ९६ हजार ७ सय ८९ को लागत अनुमान बजेट रहेको छ । निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ६ करोड ८२ लाख ५६ हजार ९१ बजेटमा काम शुरुआत भएको थियो । विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनी गरेको छ । तानसेन नगरपालिकाको कैलाशनगरमा निर्माणाधीन डबलीले यस क्षेत्रमा नै चहलपहल ल्याउने भएपछि स्थानीय बासिन्दा उत्साहित देखिएका छन् । स्थानीय बासिन्दा राजेन्द्र लिगलका अनुसार डबली सञ्चालनमा आएपछि पाल्पाको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसरहरु सिर्जना हुने र कला, संस्कृतिको प्रदर्शनीका कारण यस क्षेत्रमा नै पर्यटकको आगमनमा वृद्धि हुने लिगलको दाबी छ । –रासस

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update