Shittalpati
पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन भएको छ । कालीगण्डकीको बगरमा बिहीबारदेखि खेल सञ्चालन भएको हो । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । खेलको उद्घाटन गर्दे सचिव रेग्मीले महिला भलिवल प्रतियोगिता खेलका लागि ऐतिहासिक पुरातात्विक, पर्यटकीय केन्द्र प्रेमको प्रतिक रानीमहल, उत्तरवाहिनी कालीगण्डकी क्षेत्र अति उपयुक्त स्थान भएको बताए । प्रतियोगिताको शुरुवात पाल्पाबाट शुरु भएकाले महिला बिच भलिवल खेलको राजधानीको रुपमा पाल्पालाई विकास गर्नुपर्नेमा उनले जोड दिए । भलिवल खेलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले रानीमहल दरवार क्षेत्रमा आफैमा सुन्दर र पर्यटकीय गन्तव्य भएकाले कालीगण्डकीको किनारमा यो प्रतियोगिता सञ्चालन हुनुले नेपालमा बिच महिला भलिबल प्रतियोगिताका खेलहरु बढ्दै जाने बताए ।

 प्रदेश १, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै विभागीय टोलीहरू नेपाल पुलिस र एपीएफ क्लबले बिच भलिबलमा प्रतिस्पर्धा गर्दैछन् । मधेश प्रदेश र प्रदेश नम्बर १ बिच भएको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । मधेशको सविना चौधरी र नेहा चौधरीको जोडीलाई अञ्जना लिम्बु र प्राची गौतमको जोडीले सोझो सेटमा पराजित गरेको छ । २१–७ र २१–१६ को सेटमा मधेस प्रदेश पराजित भएको हो । दोस्रो खेलमा सुदुरपश्चिम विजय भएको छ । भगवती जोशी र बविता बोहोराको सुदुरपश्चिमले कर्णाली प्रदेशको अहारा कुमारी शाही र हिरा जैशीको जोडीलाई २०–४ र २३–२१ को सेटमा पराजित गरेको हो । तेस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भयो । २१–९ र २१–११ को सेटमा कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डांगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । प्रदेश नम्बर १ र एपीएफ बीच भएको प्रतिस्पर्धामा भने ३–२ को सेटमा एपीएफ विजयी भयो । प्रदेश १ को जोडीलाई एपिएफका रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडीले १–२१, २१–१६ र ८–१५ को सेटमा एपीएफ विजयी भएका छन् । बागमती र गण्डकी प्रदेशको खेलमा भने सोझो सेटमा गण्डकी बिजयी भयो । गण्डकीका पबित्रा बिसी र रेबिना घर्तिमगरको जोडीले बागमतीका मोनिका महतो र रोजीना कुमालको जोडीलाई २१–६ र २१–१४ को सेटमा हराएको हो । अर्काे खेलमा मधेश प्रदेशलाई हराएर सशस्त्र प्रहरी बलको जोडी सोझो सेटमा बिजयी भएको छ । मधेश प्रदेशलाइ २१–५ र २१–८ को सेटमा पराजित गरेका हुन् । २५ गते शुक्रबार चार खेल हुनेछ । चार वटा क्वाटरफाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवाले जानकारी दिए । शुक्रबारको पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी बीच हुनेछ । दोस्रो क्वाटरफाइनल सुदुरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । चौथो खेल गण्डकी र प्रदेश नम्बर १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानले जनाएको छ ।

भलिबल प्रयोगितामा प्रथम हुने टोलिले नगद १ लाख दोस्रो हुनेले नगद ५० हजार रुपैयाँ सहित शिल्ड मेडल पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा खेल सद्भावना दुतको रुपमा नायक धिरेन शाक्य सहभागी रहेका छन् । पाल्पाको पर्यटन प्रवद्र्धन र खेलकुद विकासका लागि प्रतिष्ठानले पहिलो पटक यो प्रतियोगिता कालीगण्डकीको बगर रानीमहल दरवारको आगनमा सञ्चालन गरेको प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update