Shittalpati
दिल्लीद्वारा सन्दीप फुकुवा

काठमाडौं, आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।

आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्ने बारे त्यही बेला टुङ्गो लाग्ने छ ।

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि ३२ लाख रुपैयाँमा पहिलो पटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले ६ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्गल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update