Shittalpati
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । यो खेलअघि जमैका र सेन्ट किट्स अंक तालिकाको पुछारमा थिए । जमैका अंक तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो ।

सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । सेन्ट किट्स भने जमैकासितको हारसँगै अंक तालिकाको पुछारमै सीमित बनेको छ । जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै संघर्ष गर्नुपर्ने देखिन्छ । जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ । सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै छ अंक बटुलेको छ । सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अंक हासिल गरेको छ । लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ । छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्स विरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखेका छन् । सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन । उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेका हुन् । उनले हालसम्म छ खेलमा नौ विकेट लिनुभएको छ । सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उनले इभेन लुइस र इस सोढीको विकेट लिएका हुन् । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।–रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update