Shittalpati
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । बुधबारबाट टेबल टेनिसले पनि समूह समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ । करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् ।

कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लक डाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प भएका थिए । बुधबारबाट लैनचैर स्थित टेबल टेनिस कोर्टमा टेबल टेनिसको अभ्यास सुरु भएको छ । नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले बताए । अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उनले बताए । बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए । यद्यपि उपस्थित खेलाडी खुसी देखिन्थे । फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए । विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update