Shittalpati
किसानको तरकारी बजारमा पुर्‍याउन समस्या

पाल्पा । व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्‍याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।

खुमडाँडा सामूहिक तरकारी समूहका अध्यक्ष जीतबहादुर रानाले १६ रोपनी जग्गामा उत्पादित काँक्रो, बन्दा, टमाटर बेच्नका लागि बजारको अभाव हुँदै देखिएको बताए । उनले छ हजार काँक्रोको बिरुवाबाट उत्पादित काँक्रा अहिले बजार पाउन नसकेपछि २० क्यारेट स्थानीय बासिन्दालाई निःशुल्क वितरण गरेका छन् । भएको छ । बाँकी काँक्रो टिपेर राख्ने काम मात्र भएको छ । गाउँमा किनेर खाने अवस्था छैन । उक्त स्थनमा २६ युवाको सक्रियतामा व्यावसायिक तरकारी खेती हुँदै आएको हो । व्यावसायिक तरकारी खेतीका लागि १६ रोपनी जमिन वार्षिक रु एक लाख भाडामा समूहले लिएको छ ।

तरकारी बेचेर जग्गा भाडा तिर्ने योजनामा काम गरेका युवाले जग्गाको भाडा तिर्न नसक्ने अवस्था देखिएको रानाले बताए । पाल्पाको तनहुँ, आर्यभञ्याङ, रामपुर, तानसेन क्षेत्रमा बिक्री हुँदै आएकामा अहिले बन्दाबन्दीमा निकासी हुन नसक्दा किसान मर्कामा परेको पूर्वखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कँडेलको बताए । कृषि शाखाका अनुसार सिलुवाका आठ युवाद्वारा उत्पादित आठ टन बन्दागोभी, एक टन काँक्रो, एक टन टमाटर, हेक्लाङ्गका ६१ युवाद्वारा तीन टन काँक्रा, जल्पाका १ सय परिवारद्वारा उत्पादित एक टन टमाटर, दुई टन बन्दाकोभी, दु्ई टन सिमी निकासी हुनसकेको छैन ।

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका किसान खेतबारीमा फलिरहेको सिमी, टमाटरलगायतका तरकारी बजार नपाउने भएपछि चिन्तित बनेका छन् । तरकारी कहाँ लगेर, कसरी बेच्ने होला भन्नेमा चिन्तित बनेको स्थानीय कृषक रामबहादुर बम्रेलले गुनासो गरे । रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्ग र सोमादीमा व्यावसायिक रूपमा तरकारी उत्पादन हुँदै आएको छ । उत्पादित तरकारी निकासीमा समस्या हुँदै आएपछि किसान निरास भएका छन् । –रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update