Shittalpati
रेडक्रसले कोरोना भित्रिन नदिन सचेतना जगाउँदै

पाल्पा । कोरोना भाइरसको संक्रमण हुन नदिने गरी जिल्लामा सचेतना कार्यक्रमका अभियान थालिएको छ । जिल्लाका केही स्थानीय तह, निजी संघसंस्थाहरुले कोरोनाको संक्रमण भित्रिन नदिनका लागि पूर्व सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाले पनि विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरी अभियानलाई अगाडि बढाएको छ । रेडक्रसले सञ्चालन गर्दै आएको समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार (सिविएच्फए) कार्यक्रम अन्र्तगत रिब्दीकोट गाउँपालिका फेकका विभिन्न स्थानहरुमा कोरोना सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले फेकका ३ वटा छुट्टा–छुट्टै स्थानमा १ सय ५७ जनाको उपस्थितीमा कोरोना भाईरसको विषयमा सचेतनाका कक्षाहरु सञ्चालन गरिसकेको छ । सचेतनाका लागि तानसेनको शित्तलपाटी, रिब्दीकोट गाउँपालिकाको बतासे र फेकमा सचेतनाका लागि संस्थाले फ्ल्याक्स प्रिन्टहरुमा सन्देशहरु राखेको छ ।

कार्यक्रममा १० जना मोटिभेटरहरुले दैनिक घरदैलो तथा समुहहरुको बैठकमा समेत छलफल गर्दै आईरहेका छन् । सचेतनाका कार्यक्रमहरुमा संस्थाका सभापति बुद्धिप्रसाद शर्मा, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, वडाअध्यक्ष नारायणबहादुर लाम्टाङ्गे, शाखाका कार्यक्रम अधिकृत विनोद भारती, सुआहाराकी फिल्ड सुपरभाईजर अनुपा कार्की, वडासदस्य चक्रबहादुर कुंवर लगायतले सचेतना कक्षाहरुमा सहजीकरण गर्दै आएका छन् । संस्थाले आयोजना गरेका परियोजनाहरु तथा वडाले आयोजना गरेका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा निरन्तर सचेतनाका कक्षाहरु सञ्चालन गरिने कार्यक्रम अधिकृत विनोद भारतीले बताए । उनका अनुसार रेडक्रसले सञ्चालन गरेको समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम र समावेशिकरण खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत प्रशिक्षणहरु सञ्चालन भैरहेका हुन् ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update