Shittalpati
स्थिर सरकार देऊ

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत भने देखिँदैन । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । मत परिणामका आधारमा सरकार गठनका लागि सत्तागठबन्धको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालले सरकार गठनका लागि नेतृत्वको दाबी गर्न सक्ने हैसियतमा छन् । यी दुवैको प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको मतका कारण अब बन्ने सरकारको नेतृत्व गर्न सक्ने गरी हैसियत सतहमा आएको छ । तर, एउटै मात्र दलले सरकार गठन गर्न सक्ने हैसियतमा कुनै पनि दल छैनन् । निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट भइसकेकाले दुई वा दुईभन्दा बढी दल मिलेर मात्र सरकार बन्ने बनाउने निश्चित हुन गएको छ । यस्तो अवस्थामा सबैभन्दा बढी प्रतिनिधि पाउने नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मौका पाएको छ । यसले सत्ता गठबन्धनको पुरानै सरकारको समीकरणलाई पछ्याएर अघि बढ्ने पनि देखिएको छ । धेरैको अनुमान पनि यही रहेको छ ।

यतिबेला मुलुकले स्थिर सरकार खोजेको छ । सहमति र सहकार्यमा स्थिर सरकार बन्नु अहिलेको आवश्यकता पनि हो । यसमा दलहरु चुक्नु हुँदैनन् । दलहरु आलो पालो सरकार बनाउने सहमतिमा जान सक्ने देखिन्छ । तर यो सहमति अहिलेका लागि उचित हुन सक्दैन । देश संक्रमणकालीन अवस्थामा छ । यस्तो अवस्थामा आलोपालो सरकार बन्नु राम्रो होइन । यसले देश र जनताको भलो हुुन सक्दैन । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको सरकार बनाउने कसरतमा छन् । उनीहरु अहिले भागबण्डका रातदिन छलफल गरिरहेका छन् । यसले अब बन्ने सरकारको नेतृत्व आलोपालो गरी गर्ने कुरामा सहमति बन्ने देखिन्छ । तर यो गलत हो । यस्तो प्रवृत्तिले राजनीति र शासन प्रणालीलाई निकै अस्थिर बनाउने छ । उता एमाले पनि सरकार गठनका लागि बलियो दाबेदार रहेको छ । एमालेसँग माओवादी केन्द्र र समाजवादी पार्टीको अहिले ठूलो पूर्वाग्रह र एकले अर्कालाई सहयोग नगर्ने भनेकाले यो वैकल्पिक सम्भावना कमजोर बनेको जस्तो देखिन्छ । जो जसको नेतृत्वमा सरकार बने पनि स्थिर सरकार बन्नुपर्छ । यसर्थ मुलुकको विकास र समृद्धिका लागि स्थिर सरकार अहिलेको आवश्यकता हो । आलोपालोको नभई पाँच वर्षे सरकार निर्माण गरी स्थिरता प्रदान गर्दा नै देश र जनताको हित हुने भएकाले राजनीतिक दलहरुले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update