Shittalpati
माटो सुधारमा ध्यान दिऊ

पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो । स्वच्छ माटो कै कारण वनस्पति, जीवजन्तु र मानवको अस्तित्व यो धर्तीमा सम्भव रहेको हो ।

माटो बाटनै थुप्रै कृषि उपजहरु उत्पादन गर्न सकिन्छ । माटोमा प्रसस्त उर्बराशक्ति रहेको छ । तर पछिल्लो समय यही माटोको उर्बराशक्ति घट्दै गएको छ । खेतमा रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोगका कारण माटोको उर्बरा र उत्पादनशक्ति घट्दै गएको हो । माटोको उर्बराशक्ति घट्दै जाँदा समेत कसैको पनि ध्यान जान सकेको छैन । माटोको महत्वलाई बुुझाउन कार्यक्रम हुने नगरेका होइनन् । तर घट्दो उर्बराशक्ति बढाउनतर्फ कसैको पनि ध्यान छैन् । हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ । सोमबार पनि नेपाल सहित विश्वभर यो दिवस मनाइएको छ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । तर दिनहुँ घट्दै गएको माटोको उर्बराशक्ति बढाउनेतर्फ भने कसैले पनि चासो देखाएका छैनन् । दिवसका दिन गरिने कार्यक्रम औपचारिकतामा मात्र सिमित बन्न पुुगेको छ । यो अत्यन्त दुुखको कुरा हो ।

तत्काल बढी उत्पादन लिने लोभले अनियन्त्रित रूपमा रासायनिक मल प्रयोग गर्ने होडले माटोको उर्बराशक्ति घटिरहेको छ । बालीनालीका बोट खेतमा जलाउँदा माटोको गुणस्तर तथा उर्बरा सन्तुलन कायम गर्ने सूक्ष्म जीवहरू मर्नाले र एउटै किसिमका मात्र बाली पटक–पटक लगाइरहनाले पनि माटो वन्जर बन्दै गएको छ । यही गतिमा उर्बर माटो बिग्रिँदै गए खाद्य उत्पादनमा ठूलो प्रभाव पर्ने देखिन्छ । रासायनिक मल र विषादीको अधिक प्रयोगले माटोको जैविक गुण घटाएको छ भने प्रांगारिक मलको प्रयोग नहुँदा जैविक गुण बढ्न पाएको छैन । बाली चक्र अपनाएर फेरिफेरि खेती गर्ने र कोसेबालीको खेती बढाउँदा माटोको उर्बराशक्ति बढ्छ । हरियो मल, गोबर तथा प्रांगारिक मलको प्रयोग बढाउने र सकेसम्म रासायनिक मलको प्रयोग कम गर्नु गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र माटोको उर्बशक्ति बढ्छ । खाद्य उत्पादन पनि वृद्धि हुन्छ । अन्यथा माटो सुधार गरिएन भने खाद्यतत्वको मात्रा रित्तिदै जान्छ र उत्पादन घट्दै जान्छ । तसर्थ माटोको सुधारमा सबै चनाखो हुन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update