Shittalpati
उत्साहहीन मतदाता

पछिल्ला निर्वाचनहरुमा आम मतदाताहरुको उत्साह क्रमश घट्दै गएको छ । राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही राजनीतिक दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ । आइतबार सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि मतदाताहरुको उत्साह देखिएन । निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमि हो । निर्वाचनमा आमजनताको उत्साहवद्र्धक सहभागिता हुन नसक्नुु दुःखद विषय हो ।

गत स्थानीय चुनावमा पनि अघिल्लोका तुलनामा करिब १० प्रतिशत कम मत खसेको थियो । जुनसुकै दल सत्तामा पुगे पनि आफ्ना र आसेपासेको मात्र हित हेरे, जनताको जीवन उज्यालो बनाउन कुनै कदम नचालेका र यो निर्वाचनमा विश्वासलाग्दा र दिल छुने मुद्दा पनि अघि नसारेका कारण नागरिकहरू मतदानप्रति विकर्षित भएको सहजै बुुझ्न सकिन्छ । कारण जे भएपनि लोकतन्त्र आएको यति छोटो अवधिमै मतदानै गर्न मन नलाग्ने गरी नागरिकहरूमा राजनीतिप्रति यसरी वितृष्णा जाग्नु चिन्ताजनक छ । हिजोको दिनदेखि नै सामदाम दण्ड भेदको नीति अपनाएर शासनसत्तामा गएकाले सबैभन्दा धेरै भ्रष्टाचार गरे । अहिले पनि सत्तामा रहेका अधिकांश व्यक्ति भ्रष्टाचारमा चुर्लुम्म डुब्दै आइरहेका छन् । यसो त विगतमा सत्तामा रहेर मन्त्री भएकाहरू पनि केही अपवाद छोडेर धेरै जना भ्रष्टाचारमा लिप्त भएकै हुन् । अहिले विडम्बना तिनै व्यक्तिले ठूलाठूला नैतिकता र आर्दशको कुरा गरिरहेका छन् ।

विगतमा भ्रष्टाचारमा लिप्त भएका कैयौं व्यक्ति फेरि जनताको घरदैलौमा मत माग्न पुगे । तर, जनताले उनीहरूलाई खासै विश्वास गर्न नसकेको पाइयो । मतदाता समयसापेक्ष परिवर्तन चाहिरहेका छन् । दलहरू पुरानै ढर्रामा छन् । निर्वाचनमा मतदाता आकर्षित गर्न दलले राम्रो काम गर्नुपर्छ । चुनावी एजेन्डा महत्वाकांक्षी बनाएर मतदाता ढाँट्नेभन्दा व्यवहारमुखी बनाएर जनताको मन जित्नुपर्छ । दलले जनताको सेवामा खटिने योग्य र मतदाताको भावनालाई सम्बोधन गर्ने उम्मेदवार खडा गर्नुपर्छ । न कि बढी पैसा खर्च गर्न सक्ने व्यक्ति । अनि मात्र गाउँ–टोल छोडेर सहर र सदरमुकाम पसेका व्यक्तिलाई भोट हाल्न जाउँजाउँ लाग्छ । भोट हालेकोमा गर्व लाग्छ । चुनावमा बढी खर्च गर्ने जनप्रतिनिधिले निर्वाचित भएपछि त्यो पैसा जनताकै करबाट असुल्ने हो । जनतालाई त्यस्तो जनप्रतिनिधि चाहिएको होइन् । मतदाता ढाँटेर, प्रलोभनमा पारेर मत खसाल्ने गलत प्रवृत्ति लोकतन्त्रका लागि लज्जाको विषय हो । यसर्थ अब दलहरु सच्चिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update