Shittalpati
आत्मनिर्भर अर्थतन्त्रको बाटो रोजौं

नेपाल अहिले पनि अरुमा निर्भर छ । देशको अर्थतन्त्रको ठूलो हिंसा विदेशबाट आउने रेमिटान्स नै हो । मुलुकमा थुप्रै अर्थतन्त्रका ढोकाहरु भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । जसका कारण अहिले पनि मुुलुुक अर्थतन्त्रमा परनिर्भर छ । सरकारले हरेक वर्ष सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रममा मुख्यतः स्वदेशी उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको हुन्छ । तर, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको आयातको तथ्यांकले सरकारी नीति र योजनालाई चुनौती दिइरहेको छ । यो अत्यन्त दुुखको कुरा हो । मुलुकको अर्थतन्त्र सबल हुनका लागि उद्योगधन्दा एवं कलकारखानको विकास हुनुपर्छ । तर अहिलेसम्म पनि त्यसो हुुन सकिरहेको छैन । स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवद्र्धन गर्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । उद्योगधन्दाले सरकारलाई आयकर तिर्छन् । जसबाट सरकारी राजस्वमा योगदान पुग्छ । मुलुकको अर्थतन्त्र पनि सुदृढ हुन पुग्छ । नेपालमा आयकरको हिस्सा राजस्वमा धेरै न्यून छ । आयकर बढाएर अर्थतन्त्रलाई धराशायी अवस्थाबाट माथि उठाउनु अहिलेको आवश्यकता हो ।

मुलुकले अर्थतन्त्रलाई विविधीकरण गर्न जरुरी छ । यसका लागि आत्मनिर्भर अर्थतन्त्र बनाउनेतिर लाग्नुपर्ने देखिन्छ । आत्मनिर्भरताका लागि मुलुकले केही न केही वस्तु उत्पादन गर्न सक्नुपर्ने हुन्छ । त्यस्तो वस्तु एउटै मात्र भए पनि अर्थतन्त्रलाई बलियो टेवा दिन सक्छ । नेपालले अरू थोक गर्न नसके पनि जलविद्युतमा सम्भाव्यताको चतुर्थांशमात्रै उत्पादन गर्न सके पनि अर्थतन्त्रले छलाङ मार्न सक्छ । तर, यही सम्भाव्यतामा पनि खासै काम हुन सकेको छैन । यद्यपि पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा केही काम भएका छन् र केही हुँदै छन् । तर, नेपालले आर्थिक प्रगति गर्न अहिलेको काम पर्याप्त छैन । एकातिर आन्तरिक खपतका लागि ठूलाठूला आयोजनाको निर्माण गर्नु त छँदैछ, अर्कोतर्फ नेपालमा विद्युत उत्पादन गरी भारत, बंगलादेश लगायत मुलुकमा बेच्नुपर्ने हुन्छ । नेपालले विद्युत् उत्पादन गर्नसक्ने हो भने भारत, बंगलादेश मात्र नभई श्रीलंकासम्म बजार विस्तार गर्नसक्छ । तर, यसका लागि उत्पादन वृद्धिसँगै बजार विस्तारमा त्यतिकै जोड दिनुपर्ने हुन्छ । नेपालको पूँजी र प्रविधिले धान्न सक्ने तथा आफ्नो उत्पादनले बजार पाउन सक्ने अवस्थामा पनि उद्योगहरू किन खुल्न सकेनन् भन्नेमा गम्भीर समीक्षा र परिवर्तन हुन जरुरी छ । यसो नगर्ने हो भने सियोदेखि धागोसम्मा परनिर्भरताको अन्त्य कहिले हट्ने छैन । तसर्थ अबको बाटो आत्मनिर्भर अर्थतन्त्र हो । यसमा सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update