Shittalpati
प्रभावित नहोस् विकास निर्माण

यतिबेला मुलुुक निर्वाचनको महोत्सवमा होमिएको छ । सबैको ध्यान मंसिर ४ मा हुुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनतर्फ छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । यसो भन्दै गर्दा विकास निर्माणका कामलाई भने वेवास्ता गरिनुु हुँदैन । सबै निर्वाचनमा केन्द्रीत भइरहँदा कतै विकास निर्माणको काम प्रभावित हुुने त होइन भन्ने आशंकाहरु पनि उत्पन्न हुन थालेका छन् । यतिबेला सरकारी काम गर्ने तौरतरीका हेर्दा आशंका उत्पन्न हुनुु स्वभाविक पनि हो । यी आंशकहरुलाई चिर्नका लागि पनि सम्बन्धित निकायले विकास निर्माणका कार्यलाई निरन्तरता दिन आवश्यक छ । विकास निर्माण कार्यमा अलमल गर्नेबित्तिकै पूर्वाधार निर्माणमा ढिलाइ मात्र हुने होइन, समग्र अर्थतन्त्रमा नै शिथिलता आउँछ ।

प्रमुख चाडपर्व सकिएलगत्तै कात्तिकपछि विकास निर्माणका काम हुने गर्छ । आर्थिक वर्षको शुरुआत साउनमै भए पनि दसैं, तिहार अघिसम्म विकास निर्माणका कामले गति लिने अभ्यास नेपालमा छैन । यस वर्ष चाडपर्व सकिए लगत्तै निर्वाचनको समय छ । यो समयमा पनि निर्वाचनको बहाना बनाएर विकास निर्माणका काम नहुुने सम्भावना पनि प्रवल छ । निर्वाचन लोकतन्त्रको एक सुन्दर पक्ष हो । तर यही निर्वाचनको बहानामा विकास निर्माणका काममा ढिलाई गरिनुु गलत हो । यसो गर्न कोही कसैलाई पनि छुट छैन । आर्थिक समृद्धि र विकासका लागि विकास निर्माणका काम तिव्र गतिमा हुन आवश्यक छ । वास्तविक कारणविना कुनै पनि बहानामा समय खेर फाल्ने छूट छैन र हुनु पनि हुँदैन । निर्वाचन राजनीतिक दल र उम्मेदवारप्रतिको अभिमत जाँच गर्ने एउटा माध्यम मात्र हो । यसर्थ निर्वाचनको बहानामा विकास निर्माणको कार्य प्रभावित हुनुहुँदैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update