Shittalpati
समयमै रोकौं डेंगु

पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ । अस्पतालहरूमा चाप बढ्दो छ । यसको रोकथाम र नियन्त्रणमा ध्यान नदिइए अवस्था भयावह हुने जोखिम छ ।

संक्रमणबाट बच्ने एउटै उपाय यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । तसर्थ सरकार, नागरिक र समुदाय सबैले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गर्नु अपरिहार्य छ । सबै लामखुट्टेको टोकाइले डेंगुु रोग सर्दैन । यो ‘एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस’ प्रजातिको पोथी लामखुट्टेको टोकाइका कारण हुने रोग हो । यस प्रजातिको लामखुट्टेले दिउँसोको समयमा मात्रै टोक्छ । यसको टोकाइबाट टाउको दुख्ने, उच्च ज्वरो आउने, श्वास फेर्न कठिनाइँ हुने, रक्तस्राव हुने, शरीरमा थकान महसुस हुने, रिँगटा लाग्ने, वाकवाकी हुने, शरीर सुन्निने जस्ता लक्षण देखिन्छन् । डेंगुुको संक्रमणबाट एकबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । जसका कारण डेंगुुको प्रकोपले महामारीकै रुप लिने हो कि भन्ने त्रास बढाएको छ । त्यसैले हरेक व्यक्ति आफैं सचेत हुनुपर्ने अवस्था आइसकेको छ । समयमै सचेतना नहुने हो भने अवस्था झन् विकराल बन्न सक्छ । यस विषयमा सबैले हेक्का राख्न जरुरी छ ।

लामखुट्टेबाट जोगिन शरीर पूरै ढाक्ने लुगा लगाउने वा हात–गोडामा यसले नटोक्ने स्प्रे छर्कने वा मल्हम लगाउने गर्नुपर्छ । सुत्दा झुलको प्रयोग गर्नुपर्छ । टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फुल पार्छ । त्यसैले यसलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरी पनि पानी जम्न दिनु हुँदैन । भाँडाकुँडा, गमला, छत, बरण्डा, बार्दली लगायत घरका सबै अन्तरकुन्तरमा ध्यान पु¥याउनुपर्छ । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंशवृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्छ । घर–घरमा नागरिक स्वयं सचेत हुने र सरकारी संयन्त्र तथा समुदायको सहयोग लिने, अनि सार्वजनिक स्थानमा सबै मिलेर अभियान चलाउने हो भने लामखुट्टेको फैलावट रोक्न सकिन्छ । यसर्थ ज्यानमारा डेंगुको प्रकोपबाट बच्न सबैले सचेतना र नियन्त्रणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update