Shittalpati
कृष्ण जन्माष्टमी र धार्मिक महत्व

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । जसरी अन्य चाडको महत्व छ त्यसरी नै जन्माष्टमीको पनि विशेष महत्व छ ।

कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । जन्माष्टमी मुख्यतः भगवान कृष्णको जन्म दिनसँगै जोडिएको छ । जुन दिन कृष्णको जन्म भएको थियो । श्रीकृष्ण भगवान विष्णुको आठौ अवतार हुन् । जसले धर्तिमा अधर्म र धर्म र अन्याय हटाउनको लागि अवतार लिएका थिए । श्रीकृष्णको सम्झनामा र उनको बालरुपलाई पुजा गर्नको लागि पावन जन्माष्टमी मनाउने गरिन्छ । यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा वृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतिक मानिएको छ । श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्यान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिने धार्मिक मान्यता रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्नका लागि पनि यो पर्वको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update