Shittalpati
नाग पञ्चमी र यसको परम्परा

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नाग पञ्चमी मनाउने गरिन्छ । हिन्दु संस्कारमा गरिने एउटा कर्म मध्ये नाग पूजा पनि हो । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्ने गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छन् । प्रकृतिमा यसको महत्वपूर्ण भूमिका रहेको छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकाले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने प्रचलन छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ । यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ ।

श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधी विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । सर्पले बायुमण्डलमा रहेको विषालु हावा सेवन गर्छ र मानिस लगायतका प्राणीलाई विषाक्त हुने अवस्थाबाट जोगाउँछ । सर्प घर्षने जनावर हो । गर्मी, बर्षायाम यसको लागि उर्वर समय हो । सन्तानोत्पादन गर्ने, आफ्नो र सन्तानको पालन पोषण गर्ने क्रममा यसले आहारको खोजी गर्छरु। मानिसको सन्निकटमा पनि आइपुगेको हुन्छ । सर्प अनेक प्रजातिका हुन्छन् । कोही विषालु हुन्छन् । कोही सामान्य हुन्छन् । कोही सादा रूप र आकारका हुन्छन् कोही ठूलो, खालका रंगी बिरंगी पनि हुन्छन् । मानिसले सबै प्रजातिका सर्पहरू पहिचान गर्न सक्दैनन् । यसरी उसको निकटमा देखापर्ने असामान्य सर्पहरूलाई नागको संज्ञा दिने गर्दै आइएको छ । नागहरू घरमा नआउन् भनेर नागहरू बस्ने खालको स्थानमा गोवरको कुण्ड बनाई दुध राखिदिने, धुवाँआउने गरी धूप बालिदिने गरिन्छ । धूपको पिरो गन्धले गर्दा नागहरू स्थान छाडेर टाढा गएर बस्दछन् । आफ्नो नजिक नआउन् भनेर नै त्यो तरिका अपनाइएको हो । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन्, त्यसरी नै विष ओकल्ने सर्पको पूजा आज गर्ने परम्परा नेपाली समाजमा कायम छ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update