Shittalpati
विश्व रक्तदाता दिवसको सन्दर्भ

आज विश्वभर रक्तदाता दिवस मनाइदै छ । प्रत्येक वर्ष १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । रक्तदाताको महत्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरू, रक्तदाता उत्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मानलगायत विविध कार्यक्रम आजको दिन सम्पन्न गर्ने गरिन्छ ।
तर यस वर्ष कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको कारणले गर्दा विश्व स्वास्थ संगठनले कुनै औपचारिक कार्यक्रम तय गरेको छैन । यस अघि थुप्रै दिवसहरु मनाइएका छन् । विविध नारासहित प्रत्येक वर्ष मनाइँदै आइएको विश्व रक्तदाता दिवस, दिवसमा मात्र सीमित भयो कि साँच्चै उपलब्धिमूलक भयो त ? यसको लेखाजोखा हुन जरुरी छ । हाम्रो देशको सन्दर्भमा भने यो दिवसलाई परिणाममुखी बनाउन सकिएको छैन । जसको कारण रगत अभावका समाचार सुन्न र पढ्न बाध्य हुनुपर्छ । सक्षम जनशक्ति र गुणस्तरीय प्रविधि पर्याप्त नहुँदा रगतकै कारण अनाहकमा पीडितले आफ्नो ज्यानसमेत गुमाएको अवस्था छ । नेपालले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन । यसको विकल्प भनेको स्वयंसेवी रक्तदाता नै हुन । अत्याधुनिक चिकित्सा पद्दतिको कारणले गर्दा देशका प्रमुख शहरहरूमा रक्ततत्वको माग दिनहुँ बढ्दै गैरहेको छ । जीवन र मृत्युको दोसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्न सक्छ । नियमित स्वयंसेवी रक्तदाता, रक्तसञ्चार केन्द्रको सार्थक श्रोत हो । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा शतप्रतिशत स्वयंसेवी रक्तदाता पु¥याउने लक्ष्य लिए तापनि नेपालमा सरोकारवाला संस्थाले यस विषयलाई महत्व दिएका छैन । स्वयंमसेवी रक्तदाता सबैभन्दा सुरक्षित रक्तदाता हुन । त्यसकारण हामी सबै मिलेर स्वयंसेवी रक्तदाता बढाउनु अत्यावश्यक छ । त्यसो गर्न सके मात्र दिवसले सार्थक रुप लिन सक्छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update