Shittalpati
राजनीतिक दल जुट्नुपर्छ

नेपाली राजनीतिमा पार्टीहरू जुट्ने, फुट्ने र पुनः जोडिने क्रम जारी छ । हुन त नेपालका राजनीतिक दलहरु टुट्नु, फुट्नु र फेरि जोडिनु नौलो घटना होइन । इतिहास हेर्ने हो भने कम्युनिस्ट, काँग्रेस वा पञ्च पृष्ठभूमिका राजनीतिक पार्टीहरु नै किन नहुन् उनीहरु टुट, फुट र जुटबाट गुज्रँदै आएका छन् । सात दशकको इतिहास बोकेका काँग्रेस–कम्युनिस्ट पार्टी हुन् वा भर्खरै गठन भएका र वैकल्पिक भनिएका साझा, विवेकशील लगायतका पार्टी पनि यो अभ्यासमा अभ्यस्त देखिन्छन् । अहिले फुटमा रहेको एमाले बीचको एकताबारे चर्चा सुरु भएको छ । एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले एकताको चर्चा अगाडि बढेको छ । फुटको डिल नाघिसकेको एमालेमा पुनः एकताको आशा यसले जगाएको छ । अहिलेको अवस्थामा दलहरु एक हुनुको विकल्प छैनन् । त्यसैले पनि यो एकता एकतामा परिणत हुन आवश्यक छ ।
संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएको थियो । पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो । त्यसबाट झन्डै दुईतिहाई बहुमतको एक्लो दल बन्यो । त्यसकै सरकार भएकाले पाँच वर्ष स्थिरता पाउँछ भन्नेमा सबै विश्वस्त रहे । तर, आन्तरिक र बाह्य चलखेलका कारण पार्टी फुट्यो । एमाले एमाले र माओवादी माओवादी नै भए । तर यहाँ पछि एमाले एमाले मै फुट भयो । माधव–झलनाथ र केपी ओली दुई समूह बन्यो । एमालेका पछिल्ला गतिविविधिले स्थिरतामा मात्र धक्का लगाएको छैन, सबैजसो दललाई सग्लो रहन दिएको छैन । दलहरू बिच मतभेद र फुट भएमा प्रतिगामी शक्तिले टाउको उठाउने मौका पाउँछ । त्यसका लागि पनि दलहरू फुट्न होइन, जुट्न केन्द्रित हुनुपर्छ । मत–मतान्तर सानो परिवारमा पनि हुन्छ । पार्टी धेरै मनको साझा चौतारी हुन् । तसर्थ पनि मन माझा गरेर भए पनि मेलमिलापको वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सबै मिलौं, कोरोनाविरुद्ध लडौं । राजनीतिक कार्यकर्ता र नागरिक समुदाय सर्वसाधारणको सेवामा जुटौं । एकताबद्ध भएर गुमेको राजनीतिक साख फर्काऔं

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update