Shittalpati
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग

गोपालप्रसाद बस्याल
तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहलमा होटल सञ्चालन गर्ने नेपाल पर्यटन बोर्डको प्रस्ताव प्रति आममानिसहरूले अस्वीकृती जनाउँदै प्रतिक्रिया दिइरहेका छन् । रित्तामहलको संरक्षण गरिरहनु पर्ने खासै औचित्यता नदेखेर नै होला पर्यटन बोर्डले विकल्पका रूपमा प्रस्ताव अगाडि सारेको छ । यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक पनि हो । यद्यपि सामाजिक सञ्जालमा देखिने कतिपय अतिरञ्जनापूर्ण प्रतिक्रिया भने भावनात्मक संवेदनशीलता भन्दा उत्तेजना पोखिएका जस्ता देखिएका छन् । यो प्रस्तावको विरोध गर्दै गर्दा रानीमहल र यस्तै प्रकारका दरबारहरूको उपयोग कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि बहस शुरू भएको छ । यसै विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।

पाल्पामा सेनकालीन मन्दिरहरू, नेपाल एकिकरण पूर्व र पछिका गढीहरू र राणाकालीन दरबारहरू छन् । यी संरचनाहरू ऐतिहासिक धरोहर हुन् । यी स्मारकहरूले तत्कालीन समाज, संस्कृृति, कला, इतिहासको बारेमा खोज अनुसन्धान गरी जानकारी प्राप्त गर्नाका लागि प्रमाण दिइरहेका छन् । यीनीहरू यत्रतत्र छरिएको पाइन्छ । उदाहरणका लागि पश्चिम पाल्पाको बल्डेङ्गढी यस क्षेत्रमा मगर राज्य चलेको थियो भन्ने प्रमाण दिन्छ । माथागढी अर्को महत्वपूर्ण गढी हो । यो गढीले नेपाल–अंग्रेज युद्वको इतिहास बोलेको छ । ऋषिकेशव मन्दिर रिडि, भैरव मन्दिर भैरवस्थान, रिब्दिकोट र सेनकालीन पाल्पा राज्य केन्द्र रहेको उत्खनन् गर्न बाँकी रहेको क्षेत्रले एकिकरण पूर्वको पाल्पा र नेपालकै अवस्थाका बारेमा प्रमाण दिन्छन् । यसैगरी तानसेनको रणउजिरेश्वरी भगवती मन्दिरले नेपाल–अंग्रेज युद्वमा नेपालले विजय हासिल गरेको एकमात्र लडाईको प्रमाण दिन्छ । यो विजयका कारण आज पनि पाल्पालीहरूले वीरताको गौरव अनुभूति गर्दै हरेक वर्ष विजयोत्सवको प्रतिक भगवतीजात्रा मनाइरहेका छौं । अमरनारायण मन्दिरले नेपाल एकिकरणको इतिहास बोल्दछ । त्यसपछि राणाकालीन नेपालमा पनि पाल्पाका विभिन्न स्थानमा ऐतिहासिक संरचना बने । पाल्पा दरबार, रानीमहल, अर्गली दरबार प्रमुख रहेका छन् । यीमध्ये पाल्पा दरबार माओवादी आक्रमणमा परी ध्वस्त हुनुपूर्व प्रशासनिक केन्द्रका रूपमा प्रयोग भैरहेको थियो । यसको पूनःनिर्माणपछि संग्रहालयका रूपमा विकास गर्ने प्रयास भैरहेको छ । अर्गली दरबारको केही भाग विद्यालयले उपयोग गरेको भएता पनि व्यक्तिका नाममा दर्ता रहेकोले राज्यस्तरबाट केही गर्न नसकिने अवस्था छ ।

राणाकालीन गुरूज्यूको तानसेन लहरेपिपलस्थित भवन त्रिभुवन क्याम्पसको प्रशासनिक भवनका रूपमा सञ्चालित छ भने सँगैको तबेला घर जीर्ण अवस्थामा पुगेको छ । क्याम्पसमा जाने सबैले यो घरको बेहाल देख्दा मन दुखाएको हुनुपर्दछ । रानीमहल दरबार पनि केहीवर्ष पहिलासम्म जीर्ण अवस्थामा रहे पनिअहिले छाना छाउने र रङरोगन गर्ने काम भएको छ । प्रहरीको सानो संख्या सुरक्षाको लागि राखिएको र घुम्न जानेहरूको दर्ता गर्ने गरिएको छ । वि.सं. २०५४ मा निर्माण सम्पन्न भएको रानीमहल दरबारको तानसेन नगरपालिकाले दरबार संरक्षणको जिम्मेवारी पाएको खबर पनि गौरवका साथप्रचार गरिएको थियो । अहिले दरबारको पुनः रङरोगन गरिएको छ । पाल्पा दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको पनि धेरै समय भयो । तर यसलाई व्यवस्थित गर्ने, सामग्री थप गर्नेतर्फ खासै काम भएको छैन । यसैगरी रानीमहलको रङरोगन गरिएको छ । तर भित्र कोठा खाली छन् । केही मानिसहरूले प्रेमको प्रतिकका रूपमा लिइएको रानीमहललाई प्रेमीप्रेमिकाको गन्तब्यका रूपमा विकास गर्नुपर्ने बताउँदै आएका छन् । यसका लागि हनिमुन होटलका रूपमा विकास गर्नुपर्ने बताइएको छ । पछिल्लो समय पर्यटन बोर्डबाट ल्याइएको होटल बनाउने प्रस्ताव पनि यस्तै आसयबाट आएको हुनुपर्छ । होटल जुनसुकै प्रकारको होस्, व्यक्तिगत सम्पतिमा सञ्चालन गर्नु राम्रो हो ।

रानीमहलको वरपर कुनै निजी सम्पतिका रूपमा हनिमुन क्याविन सहितको होटल खोल्नु ठीकै मानिएला । तर सरकारी सम्पतिमा होटल खोल्नु भनेको सरकार नै होटल व्यवसायी बन्न खोजेको देखिन्छ । सरकारले भाडामा दिने भनिएको होला । तर यस्ता दरबारको अन्य तरिकाले उपयोग गर्न सकिन्छ । रानी तेजकुमारी र खड्ग समशेरको मूर्ति निर्माण गरी कुनै कोठामा राख्ने, उनीहरूका शारीरिक, पहिरन र क्रियाकलाप सहितका मूर्ति राख्ने, खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमील जीवन र रानीको मृत्युपछि खड्ग शमशेरको अवस्था झल्काउने भिडियो वा डकुमेन्ट्री प्रदर्शन कक्षका रूपमा अर्को कोठा प्रयोग गर्न सकिन्छ । तत्कालीन राणाकालीन समय र समाजको अवस्था चित्रण गर्ने कलात्मक सामग्री निर्माण गरी राख्न सकिन्छ । विश्वभरका प्रेम प्रतिकहरूका फोटाहरू अर्को कोठामा राख्न सकिन्छ । शिवपार्वती, मुनामदन, लैलामञ्जु, रोमियो जुलियट लगायतका तस्वीर राख्न सकिन्छ । उनीहरूका पे्रम कथामा आधारित फिल्म वा नाटक छायाङ्कन गरी प्रदर्शन गर्न सकिन्छ । अर्को कोठामा यस्ता प्रेमरसमा आधारित साहित्यिक कृतिहरूको सङ्ग्रह गरी आगन्तुकलाई केही घण्टा बसेर अध्ययन गर्न प्रेरित गर्न सकिन्छ । खड्ग शमशेर र रानीतेजकुमारीको डमी फोटो खिच्ने, उनीहरूको प्रेमालाप गर्ने बुर्जाका साथै अन्य ठाउँ तोकी घुम्न जाने जोडिहरूलाई उपयुक्त अवस्था निर्माण गर्न सकिन्छ । महलको पूर्व दक्षिणतिर पार्क निर्माण गरी लवपार्ककै रूपमा विकास गर्ने र त्यसलाई प्रेम जोडीको सुन्दर गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । यी संरचना तथा सुविधा निर्माण गर्न सक्ने हो भने सेवा शुल्क उठाउन सकिन्छ । यी सुविधाको विस्तारसँगै आगन्तुकको संख्या बढ्ने र चहलपहल बढ्ने हुन्छ । यसरी रानीमहलमा आकर्षण बढ्न थालेपछि महल वरपर थप संरचना विकास गरी व्यवसाय विस्तार गर्न शुरू हुन्छ । यसका लागि साना ठूला निजी व्यवसायीलाई प्रेरित गर्नु पर्दछ ।

रानीमहललाई होटलका रूपमा विकास गर्दा केही जटीलता र जोखिम छन् । सबै भन्दा पहिले दरबारको जग्गा र बाँकी सम्पति यकिन गर्नु आवश्यक छ । त्यस्तै दरबारको कलात्मक पक्ष, ऐतिहासिक पक्ष र प्रेमको प्रतिक भनेर मानिदै आएकोमा होटलको ख्याति प्राप्त हुने थप आधारहरू खाना, बास, अतिथि सत्कार, मनोरञ्जन लगायत सुविधाहरूको चर्चा बढी हुन जान्छ । यी सुविधाको स्तरसँगै दरबारको मौलिक पहिचान हराउँदै जान्छ । व्यवसायिक प्रयोजनका लागि आवश्यक संरचना निर्माणबाट महलको मौलिक संरचना मासिन्छ । यसका साथै हाम्रा आँखा अगाडि पाल्पाको प्रभास क्षेत्र छ । हामीले सार्वजनिक जग्गा भनेर ठानेको आँप बगैंचा क्षेत्रमा मात्र होइन प्रभास तालसमेत मासिन लागेको छ । केही वर्षमा ताल थियो रे भन्नु पर्ने हुन्छ । अर्गली दरबार व्यक्तिको नाममा छ । अन्य सार्वजनिक जग्गा तथा संरचना मिचेर निजी बनाउने चलन देखिएकै छ । तसर्थ सार्वजनिक सम्पतिको संरक्षण अहिलेको मुख्यचुनौति भइरहेको सन्दर्भमा रानीमहलको उपयोग गर्दा पनि यस्ता सम्भावित जोखिमबाट बचाउन आवश्यक देखिन्छ । यसका लागि सरकारीस्तरबाट नै यसको उपयोग गर्नु आवश्यक छ ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update