Shittalpati
खाँचो राष्ट्रिय एकताको

हरेक वर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तिका दिन राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइदै आइएको छ । आज पनि देशभर विविध कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । नेपाली सभ्यताको ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष आजकै दिन मनाइने गरिन्छ । आजको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनाको विगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिइने गरिन्छ । पृथ्वी नारायण शाहालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । पृथ्वीजयन्तीका रूपमा विगत धेरै लामो समय राष्ट्रिय एकता दिवस मनाइदै आएकोमा देश गणतन्त्रमा गइसकेपछि यो दिवसको महत्व घटाइएको छ । गणतन्त्र भनिए पनि राजनीतिक दलका सीमित नेताले मुलुकलाई कसरी लतार्दै छन्, नेपाल कुन अवस्थाबाट गुज्रिँदै छ र संविधान पालना गर्ने सवालमा नेपाली कति अनुशासित देखिएका छन् कसैले कसैलाई सम्झाइरहनुपर्ने अवस्था छैन ।

राष्ट्रपतिलाई एकताको प्रतिक संस्था मान्ने कुरा त परै रह्यो, देशलाई नै अखण्ड भावले हेर्ने संस्कारको विनाश भएको छ । टुक्रा–टुक्रामा राज्यको अंशवण्डा लगाएर अस्तित्व मेटाउने आत्मघाती प्रवृत्तिले नेपाल आक्रान्त छ । अनुशासनहीनता हुर्किंदै अराजकता यति चुलिन पुग्यो कि न जनता शासकको काबुमा छन् न त सरकार नै जनभावनाबाट चल्ने प्रयत्न गरिरहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्रको निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहको योगदानलाई जबर्जस्ती भुल्न–भुलाउन खोज्नु दुखद् हो । अहिलेको अवस्थामा उनको कदर एवं मार्गनिर्देशन अवलम्बन गर्नु मुलुक तथा मुलुकवासीका निम्ति अपरिहार्य बनेको छ । यतिबेला देशका राजनितिक दलका नेताहरू नै देशलाई विखण्डन गराउने दिशामा उद्धत रहेको देखिन्छ । आज हामी कहाँ छौं ? नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायण शाहको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । आज देशमा जातीय मुद्दालाई उठाएर नेपाली नेपालीबीच काटमार गराउने प्रयासहरू भइरहेका छन् । यसको बीजारोपण किन, कसले र कसरी गर्‍यो भन्ने विषय गम्भीर अनुसन्धानको विषय बनेको छ । जातीय विवादले उग्ररूप लियो भने त्यसलाई कुनै पनि राजनीतिक दर्शनले मत्थर पार्न सकिने छैन भन्ने कुरा समयमै बुझ्न जरुरी छ । तसर्थ देश र जनतालाई एक ठाउँमा लिनका लागि देशभक्तहरू बीच एकताको खाँचो छ ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update