Shittalpati
बाल दिवसको औचित्य

प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरूवात भयो । बालबालिकाको अधिकार र संरक्षणका लागि सरकार तथा वयस्कहरुले प्रण गर्ने, सरकार तथा सरोकारवालाहरुले आफुले गर्ने कार्यहरुलाई व्यवस्थित गर्ने तथा देशलाई नेतृत्व प्रदान गर्ने बालबालिकाको लागि गरेका कार्यहरुको समीक्षा र नयाँ योजना सुरुवात गर्ने दिनको रुपमा दिवसलाई लिने गरिन्छ । बालबालिका प्रकृतिका सुन्दर संरचना हुन, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यका संवाहक पनि हुन् । बालबालिकाविनाको समाज कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् ।

वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँंगै बढिरहेको हुन्छ । त्यसैले बालबालिका वा उनीहरूको समस्या कुनै एक व्यक्ति वा विषयसँग मात्र सम्बन्धित नभई सबै क्षेत्र, वर्ग, समुदाय, पेसा, समाज र आममानिसको सरोकारको विषय हो । त्यसकारण सबै बालबालिकाहरूको भविष्य उनीहरूको उमेरसँगै बढिरहेको हुन्छ । नेपाल लगायत विश्वभरी सरकार लगायत विभिन्न संघ संस्थाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गर्दछन । यद्यपि राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर बालदिवस औपचारिकतामा मात्रै सीमित रहेको छ । यो भने दुःखको कुरा हो । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको औचित्यलाई बुझाउन सक्नुपर्दछ । बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं भन्ने पक्षले राष्ट्रिय बालदिवसको औचित्यलाई मापन गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update