Shittalpati
शौचालय दिवसको सार्थकता

आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित रहेर हरेक वर्ष १९ नोभेम्बरमा यो दिवस मनाइने गरिन्छ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ । नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि ठूलो जनसंख्या शौचालयको पहुँच बाहिर छ ।

नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । सरकारले सार्वजनिक शौचालयको महत्व नदिएको होइन, गरिबी निवारण रणनीतिक योजनामा सरकारले सन् २०१७ सम्ममा सबै नेपालीको हकमा सुरक्षित खानेपानी तथा आधारभूत शौचालयको पहुँच पुर्‍याउने लक्ष्य राखेकोबाट यसको पुष्टि हुन्छ । तर, सरोकारवालाहरू सरकारले लक्ष्य अनुसार काम नगर्दा लाखौं नागरिक संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य सम्बन्धी न्यूनतम सुविधा शौचालय प्रयोगबाट समेत बञ्चित हुनु दुःखद् हो । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार जहाँ पर्याप्त सार्वजनिक शौचालय छैन, त्यो ठाउँलाई सहर मान्न सकिँदैन । सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग पनि हो । यसर्थ खुला दिशामुक्ता भएका जिल्लाहरुलाई सफल कार्यन्वयनको दिशामा अगाडि बढाउन सके मात्र विश्व शौचालय दिवसले साथर्कता पाउन सक्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update