Shittalpati
पहिरो वितण्डा : सजग बनौं

कोरोना महामरीसँगै बाढी पहिरोले नेपालमा ठूलो वितण्डा मच्याएको छ । कोरोनाबाट आजित बनेका नेपालीहरुलाई बाढी पहिरोले सताएको छ । भदौ ३० देखि मौसम सकिनुपर्ने भए पनि चार दिनदेखि लगातार मौसम सक्रिय भएको छ । जसले गर्दा ठाउँ–ठाउँमा पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षति पुर्‍याएका घटनाहरु बाहिर आएका छन् । केही दिनदेखि लगातार सघन वर्षात् भएको छ । पाल्पा, स्याङजा, गुल्मी जिल्लाहरुमा ज्यादै अप्रिय घटना भएका छन् । सम्पादकीय तयार पार्दासम्म पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी पाँच जना बेपत्ता छन् भने एक जना महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएर स्याङ्जामा दश जनाको मृत्यु भएको छ । गुल्मीको ईस्मा गाउँपालिका–२ मा पहिरोमा पुरिएर दुई जनाले ज्यान गुमाउनु प¥यो । कैयौँ घरबारबिहिन भएका छन् । विस्थापित हुनेको संख्या पनि उल्लेख्य छ । हरेक वर्ष नेपालीले यस्तै प्राकृतिक विपत्तीको सामना गर्नुपरेको छ । यो हप्ता पहाडी भूभागमा पहिरोको वितण्डा छ ।

समाचार माध्यम तथा सामाजिक सञ्जालहरुमा स्तब्ध बनाउने खालका तस्वीरहरु पोष्ट भएका छन् । यि त केही प्रतिनिधि घटना मात्रै हुन् । पहिरोका कारण पहाडमा अधिकांश घरहरु जोखिममा रहेका छन्, भने केही घर गोठ भत्किएर मानविय र पशुचौपायाहरुको क्षति भएको छ । यस्ता दर्दानाक घटनाहरु नेपालीहरुले वर्षेनि खेप्नु परेको छ । बाढी र पहिरो प्राकृतिक प्रकोप हो । प्रकोप या विपत्ति प्रकृतिसँग जोडिएको हुन्छ । यसलाई चाहेर पनि पूर्ण रूपमा रोक्न सकिँदैन । तर प्राकृतिक प्रकोपको जोखिमलाई भने रोक्न सकिन्छ । पहिरो उच्च जोखिम रहेका स्थानहरुमा बोटविरुवा लगाउने, तत्कालै त्यस्ता जोखिम भएका वस्तीहरुलाई स्थानान्तरण गर्ने, वर्षा परिरहेको बेला यात्रा नगर्ने जस्ता कुराहरुमा ध्यान दिन सके जोखिमबाट हुन सक्ने क्षतिलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ । तसर्थ उच्च जोखिममा रहेका बस्तीहरूलाई जोगाउने काममा समयमै सतर्कता अपनाउने गरौं । बाढी पहिरो र डुबानमा परेका नागरिकहरूलाई राहत र उद्दार गर्ने काममा सक्रियताका साथ लागौं । सम्भावित खतरा आउन नदिन सबै सचेत र सजग बनौं ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update