Shittalpati
नदी दोहन र स्थानीय सरकार

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ । प्रमुख प्रशासकीय अधिकृत समेतको मिलोमतोमा भएको अनियमितताले एकातर्फ आर्थिक अनियमितता भएको छ भने अर्को तर्फ वातावरणीय विनासको खतरा बढेर गएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ठेकेदार समेतको मिलोमतोमा गिट्टी, बाुलवा र ढुङ्गा निकासी गर्ने क्रममा दश गुणा बढी निकालिनु आफैमा अत्यन्तै आपत्तीजनक विषय हो, यसले चुरे आसपासको क्षेत्रमा वातावरणीय विनासलाई पनि प्रशय दिएको देखिन्छ । पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाका अध्यक्ष समेतले वास्तै नगर्ने जस्ता कार्यले त्यहाँ भएको अनियमितता संस्थागत र सुनियोजित रुपमा भएको भन्ने अड्कल सहजै लगाउन सकिन्छ ।

प्राकृतिक रुपमा अत्यन्तै ऊर्वर मानिएको बाकामलाङ्गको भू–भाग हुँदै बग्ने धार्मिक तथा ऐतिहासिक कालीगण्डकी नदी नवलपरासी, तनहुँ र पाल्पाको सीमा क्षेत्रमा पर्छ । धार्मिक दृष्टिले यो शालिकग्राम क्षेत्र अन्तर्गत पनि पर्ने गर्छ । त्यस्तो नदीबाट सम्झौता भन्दा दश गुणा धेरै नदीजन्य पदार्थ निकासी गरेर वातावरणीय र स्थानीय सरकारलाई आम्दानी हुने झण्डै पचास लाख बराबरको आर्थिक चलखेल भएको हो भने अत्यन्तै दुःखद् र लज्जास्पद घटना हो भनेर भन्नुपर्ने हुन्छ । यस्तो घटनालाई सामान्यकृत र सरलीकरण गर्ने निस्दी कार्यपालिकाले मौनम् स्वीकृत लक्षणमको अवस्था देखाई रहेको छ । यस्तो हुनु आफैमा अनियमितताको प्रतिक हो । प्रारम्भिक अध्यायन र विस्तृत वातावरणीय अध्यायनको प्राप्त रिपोर्ट समेतको वास्तै नगरेर यसरी अनियमित रुपमा प्राकृतिक दोहन गर्ने कार्य नरोक्ने हो भने भोलि हाम्रा सुरक्षित भविष्य नै अनिश्चित हुने प्रायः निश्चित जस्तै भएको छ । व्यवसायीले सम्झौता भन्दा धेरै गिट्टी, बालुवा र ढुङ्गा निकाल्यो भनेर वडा अध्यक्षबाट भएको रिर्पोटिंग पनि आफैमा निरर्थक जस्तै भएको पाइयो । त्यसकारण यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ । निस्दीको यो घटना त एउटा प्रतिनिधि पात्र मात्र हो, तर देशव्यापी रुपमा प्राकृतिक दोहनका धेरै घटना भएका छन्, त्यसको रोकथाम र नियन्त्रणमा सरकारहरु नलागेको देखियो । त्यसकारण अव सम्बिन्धित सबै पक्ष एक जुट भएर लाग्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update