Shittalpati
स्तनपान दिवस र यसको महत्व

दिनेश घिमिरे
यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं । आमाको दूध बाहेक बच्चाको लागि अरु कुनै खाद्य पदार्थ विकल्प छैन र शिशु जन्मेको १ घण्टा भित्र नै आमाको दूध (पहेलो दूध, विगौति दूध) खुवाउनु भनेको बच्चाको जिन्दगीकै पहिलो खोप हो भन्ने पनि कुरालाई अध्ययनले प्रमाणित गर्दछ । तर राष्ट्रिय स्वास्थ्य तथा जनसांख्यिकीय सर्वेक्षण २०१६ का अनुसार जन्मेको १ घण्टा भित्र ५५ प्रतिशत बच्चालाई मात्र स्तनपान गराएको देखाएको छ । जुन बाल मृत्युदरको एक मूल कारक तत्व हो ।

दिन र रातमा कम्तिमा १० पटक आमाको दूध मात्र खुवाउनु पर्दछ । जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन हुन्छ साथै आमा र बच्चा दुवैको लागि फाइदाजनक हुने गर्दछ । आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्वहरु उपलब्ध हुने गर्दछ । त्यसैले बच्चा ६ महिना पुरा नभएसम्म आमाको दूधबाहेक पानी पनि खुवाउन हुँदैन । आमाको दूध किटाणु रहित र उपयुक्त तापक्रममा सधै तयारी अवस्थामा रहेको हुन्छ । विशेषतः नवजात शिशुको लागि आमाको दूधले विभिन्न रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने मुख्य भूमिका समेत खेल्ने गर्दछ र बच्चा बिरामी हुने दरमा कम गराउँदछ । आमाको दूध बच्चाले सहजै पचाउन सक्ने प्रकृतिको हुने भएकाले दूधमा उपलब्ध सबै पौष्टिक तत्व बच्चाको शरीरले प्राप्त गर्न सक्षम हुन्छ । स्तनपानको महत्व धेरै थोरै बहुसांख्यिकलाई थाहा भएता पनि विभिन्न कारणवश स्तनपान गराउने आमाहरुले आफ्नो शिशुलाई पूर्ण स्तनपान गराएको पाइदैन—जसमा आमाले आफ्नो शारीरिक बनावट विग्रने डरले, शारीरिक शक्ति कमजोर हुने डरले स्तनपान कम गराउने वा नगराउने पाइन्छ । रोजगारको लागि घरबाहिर जानुपर्ने भएका कारण पनि पूर्र्णस्तनपान गराउन नसकेको अवस्था आउन सक्छ । सुत्केरी अवस्थामा स्तनले प्राकृतिक रुपमै दूध उत्पादन गर्ने हुँदा बच्चालाई स्तनपान गराउदा आमाको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ भने बच्चाको लागि त झन यो अमृत समान नै हो भने आमा र बच्चाबिच ममतामय वातावरण पनि सिर्जना गर्दछ । तसर्थ स्तनपान दिवस र यसको महत्वका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

स्तनपानको धेरै महत्व हुँदाहँुदै पनि बाहिरी मिश्रणयुक्त (गाई भैसीको दूध, पाउडर दूध) नवशिशु तथा शिशुलाई खुवाउँदा मानसिक तथा शारीरिक वृद्धि र विकास पर्याप्त रुपमा हुन पाउँदैन । कृतिम आहारहरु जस्तै गाई भैसीको दूध, पाउडर दूध जस्ता खानेकुराले बच्चालाई बिसन्चो गराउने, पखाला लाग्ने, खाएको नपच्ने जस्ता समस्या देखा पर्दछ । आमाको दूधको तुलनामा अरु दूध तथा आहारामा ल्याक्टोज, प्रोटीन र सोडियम उचित मात्रामा हुँदैन भने रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व (एन्टिवडी) को मात्रा लगभग शुन्य नै हुन्छ । स्तनपान नगराउँदा बच्चा बिरामी हुने र अन्य कारणले पनि आमा तथा परिवारलाई मानसिक, आर्थिक जस्ता समस्या झेल्न परिरहेको हुन्छ ।

आमाको दूध खुवाउँदा अर्थात् स्तनपान गराउँदा पखाला लाग्ने र अन्य शारीरिक समस्या हुने दर कम हुन्छ । त्यसै गरी स्तनपान गराउँदा गिलो दिसा बनाउँछ जसले बच्चालाई दिसा गर्न सजिलो हुने, शरीर चिलाउने(एलर्जी) हुनुका साथै आमा र शिशु बिचको मायामा झन प्रगाढ हुन्छ । स्तनपान गराउँदा आमाको दूधमा भिटामिन बि, भिटामिन डी र ओमेगा फ्याट्टी एसिड जसले स्नायु प्रणालीको विकास गराउँछ । हामी बच्चालाई दूध खुवाउनमा र ६ महिना पश्चात पोषिलो थप खानामा जोड गरिरहेका हुन्छौ भने तुलनात्मक रुपमा आमाको हेरचाह र आहार व्यहारमा कम चासो दिने गरिरहेको पाईन्छ । आमाले कस्ता—पौष्टिक खाना खाएमा, पारिवारिक वातावरण पाएमा, स्तनपान गराउदाका कस्ता आसन र सम्पर्क अपनाएमा, भन्ने जस्ता यावत् कुराले पनि बच्चाको स्तनपानको गुणस्तरमा असर पुग्ने गर्दछ । कुनै–कुनै आमाहरुको दूध विभिन्न शारीरिक कारणले नआउन सक्छ तथापि हामीहरुले आमाको पौष्टिक खानेकुरालाई पनि त्यत्तिकै महत्व दिनु जरुरी हुन्छ । त्यसैले स्तनपान गराइरहेकी आमाले साविकको भन्दा थप पोषिलो आहार खानु पर्दछ भने आहार पोषिलो बनाउन खानामा विविधीकरण गर्न अतिनै महत्व रहने गर्दछ । सकारात्मक र तनाव रहित पारिवारिक वातावरणको पनि उत्तिकै महत्व रहने गर्दछ किनभने स्तनपान जति शारीरिक क्रियाकलाप हो उत्तिकै मानसिक कार्य पनि हो ।
स्तनपान सम्बन्धी मुख्य व्यवहारहरु
१. शिशु जन्मने वित्तिकै आमाको छातीमा टाँसिएर रहन दिने ।
२. बच्चा जन्मने वित्तिकै आमाको स्तनमा राख्ने र दूध खुवाउने कोशिस गर्ने ।
३. बच्चालाई बिगौति दूध एक घण्टा भित्र नै खुवाउने ।
४. बच्चालाई ६ महिनासम्म पूर्णस्तनपान गराउने ।
५.एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउने ।
६. बच्चालाई पटक–पटक(दिन र रातमा गरेर १० पटक भन्दा बढि ) स्तनपान गराइराख्ने र बच्चाले जति पटक दूध खान खोज्छ त्यत्ति नै पटक स्तनपान गराउनु पर्दछ ।
७. सहि आसन र सम्पर्कमा राखेर बच्चालाई स्तनपान गराउनु पर्दछ ।
८. आमा वा बच्चा जो बिरामी भएपनि निरन्तर स्तनपान गराइरहने ।
९.बच्चालाई २ वर्ष वा सो भन्दा पछिसम्म पनि निरन्तर स्तनपान गराइरहने ।
१०. स्तनपान गराइरहेकी आमाले दैनिक साविकको भन्दा बढी पोषिलो खाना खुवाउने ।
स्तनपानको कुरा गरिरहँदा स्तनपान गराउने तरीका जस्तै बच्चालाई आमाको बसाई र बच्चालाई कसरी राख्ने (आसन र सम्पर्क), कति समयसम्म खुवाउने, कसरी खुवाउने भन्ने जस्ता कुराको जानकारीका साथै व्यवहारमा ल्याउनुपर्छ । बच्चालाई सहि तरीकाले स्तनपान गराउने बेला काखमा राख्न नजान्नाले बच्चाले पुरा दूध नचुस्ने, खाँदाखाँदै बिचैमा छोडन्े जसका कारण भोकै भएर झिभ्mझिनी, रुने गर्ने जस्ता प्रतिक्रिया गर्ने गर्दछन् ।

‘परिवर्तन क्रमागत प्रक्रिया हो—यो झट्टै प्राप्त गर्न सकिन्न’, त्यसैले स्तनपान सप्ताह केवल एक हप्ता मनाउँदैमा सबै आमा तथा परिवारका सदस्यले यसको महत्व बुझे भन्ने निचोडमा जान हँुदैन, यो त निरन्तर शिक्षा दिई रहनु पर्ने विषय हो — यो एक हप्ताको अवधि त केवल एक मञ्च हो, जुन अवधिमा स्तनपान सम्बन्धिको सन्देश प्रवाह गर्दा दोब्बर रुप लिने गर्दछ । जब कुनै महिला गर्भवती हुन्छिन् अनि त्यहिबाट नै स्तनपान शिक्षा दिन शुरु गर्नुपर्दछ । स्तनपान तत्कालको लागि बच्चाको आहार हुन सक्छ तर यसले त्यस बच्चा, परिवार र समग्र राज्य प्रति उसको उपलब्धीसँग जोडिएको हुन्छ । पूर्ण स्तनपान गराउनका लागि आमाको भूमिका सबै भन्दा बढी हुन्छ भने परिवारका सदस्य, समाज, स्थानीय सरोकारवालाहरु, नितिगत तहमा बस्नेहरुको पनि उत्तिकै भूमिका हुन्छ । आमा तथा परिवारका सदस्यहरुलाई बढी भन्दा बढी छलफलमा ल्याएर बुझाउन सकेमा मात्र स्तनपानको दर बढाउन सकिन्छ । बच्चाको शारीरिक तथा मानसिक विकास कति भयो भने तत्काल मापन गर्न सकिदैन यो त उसले जीवन भर गर्ने क्रियाकलापबाट थाहा हुन्छ ।

(लेखक पछौटेपन उन्मूलन समाज (बेस) नेपालका फिल्ड कोडिनेटर समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update