Shittalpati
सहकारी दिवसको सार्थकता

विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समूहलाई प्रदान गरिने वित्तीय सेवा या सहायतालाई बुझाउँदछ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनिकरणका लागि बिमा हो । नेपालमा अनौपचिारिक रुपमा प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी आदि नामबाट सहकार्यको शुरुवात भएको पाइन्छ तर औपचारिक रुपमा सहकारीको शुरुवात भने २०१३ सालमा भएको हो । २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभाग स्थापना भयो । सहकारी विभाग स्थापना भएपछि सहकारी खुल्न थालेको हो । २०१३ सालमा चितवनमा स्थापना भएको बखान ऋण समिति नै मुलुकको पहिलो मानिन्छ । तर पछि नेपालमा धेरै सहकारीहरु स्थापना भएका छन् । मुलुक संघीय संरचना गएपछि ती सहकारीलाई व्यवस्थित गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ ।

सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुुकूल बनाउनुुपर्ने देखिन्छ । सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय र स्थानीय निकायबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । कुल गार्हस्थ उत्पादनमा करिब पाँच प्रतिशतभन्दा बढी र वित्तीय क्षेत्रमा २० प्रतिशत हिस्सा ओगटी ५४ प्रतिशत जनतालाई वित्तीय सुविधा दिइरहेको सहकारीलाई थप सक्रिय र चलायमान बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्दछ । नेपालजस्तो सानो भूूगोल र जनसंख्यामा यति धेरै सहकारी संस्था, त्यो पनि बढ्दो क्रममा रहेको अवस्थामा सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारी संस्थाको उद्देश्य, कार्यक्षेत्र वित्तीय अवस्था, पूँजी लगानी असुल उपरका विश्वसनीय पक्ष, अनावश्यक प्रतिस्पर्धा र वित्तीय तरलताका समस्या हटाई दिगो व्यवस्थापन र सबल अर्थतन्त्रका लागि सहकारी संस्थाबीच एकीकरण गर्न सके मात्र सहकारी दिवस मनाउनुको सार्थक रहन्छ ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update