Shittalpati
झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस

आज विश्वभर उपभोक्ता अधिकार दिवस मनाइदैं छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस मनाउँदै छन् । नेपालमा वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यस वर्ष पनि कायम छ । यो दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर हरेक वर्ष दिवसका दिन मात्र कार्यक्रम गर्नुको औचित्य छैन । उपभोक्ताको हितका लागि हरेक दिन उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्दछ । तर नेपालमा भने त्यसो हुन सकिरहेको छैन । यो अत्यन्त दुःखको कुरा हो ।

उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौं ऐन कानुन भएपनि आम उपभोक्ताले महशुस गर्न पाएका छैनन् । उपभोक्ता ऐन–२०५४ को ऐन पश्चात नेपालमा वर्षमा एक दिन औपचारिता कायम गर्न उपभोक्ता दिवस मनाउने गरिन्छ । दिवस मनाउनु हुँदैन भन्ने होइन तर उपभोक्ता दिवसको दिनबाहेक अन्य कुनै पनि दिन उक्त विषय र नाराले स्थान पाउन नसक्दा भने दिवस माथि प्रश्न उठेको हो । एकदिनको कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रर्वद्धन हुन सक्दैन । उपभोक्ताको हित र अधिकारका विषयले दिनहुँ स्थान पाउनुपर्छ तर त्यसतर्फ राज्य नै संवेदनशील हुन सकेको छैन । देखावटी र झारा टार्ने प्रवृत्तिले उपभोक्ताको हित हुन सक्दैन । पछिल्लो समय उपभोक्ताहरू अचाक्ली महँगीबाट प्रताडित भएका छन् । उनीहरु बजार गएर घर र्फकदा आफू सवस्र्व लुटिएको महशुस गर्नु परेको छ । भ्रामक र झुठा विज्ञापनबाट उपभोक्ता ढगिएका छन् । यी कुराहरुको न नियमन हुन्छ नत कानुनी कारवाही नै । यस्ता कुराबाट उपभोक्ताले विश्वास गर्ने ठाउँ रत्तिभर छैन । तसर्थ यस्ता दिवसले उपभोक्ताको हकहित र अधिकारका पक्षमा वकालत गर्ने हो भने उनीहरुलाई बजारको अराजकता र दण्डहीनताको अन्त्यका लागि विधिको शासन र कानूनी राज्यको अनुभूति दिलाउन सक्नुुपर्छ । त्यसो भयो भने मात्र दिवसले साथर्कता प्राप्त गर्न सक्छ । अन्यथा दिवस झारा टार्ने काम मात्र हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update