Shittalpati
शिक्षा दिवसको सार्थकता

अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् । विशेषगरी, गरिब राष्ट्रहरुमा त त्यसको अनुपात बढ्दो क्रममा छ । यसले दिवसको औचित्य माथि नै प्रश्न चिन्ह खडा गरेको छ । सबैलाई शिक्षाको पहुँचमा ल्याउन नसक्दासम्म दिवसले सार्थकता पाउन सक्दैन । विगत वर्षहरुका शिक्षा दिवस पनि ठोस नीति र उद्देश्य भन्दा पनि कर्मकाण्डी पाराले मनाएको अवस्था जगजाहेर नै छ । शिक्षा दिवस सुरुका वर्षहरुको जस्तो रौनक र उल्लाहस पछिल्ला वर्षहरुमा टाक्सिदै गएको आरोप वास्तविकताको नजिक छ । शिक्षा दिवस जस्तो राष्ट्रिय पर्वमा कुनै ठोस कामको सुरुवात गर्ने र त्यसको प्रत्यक्ष अनुभूति शिक्षक विद्यार्थी लगायतका सरोकारले गर्न पाउने खालको नारा तय गरिनु बुद्धिमानि हुन्छ ।

पछिल्ला वर्षको नारामा समावेश गरिएका शब्दहरु विगतका शिक्षा दिवसमा पनि कुनै न कुनै रुपमा समावेश भए कै पाइन्छन् । तर नारालाई सार्थकतामा बदल्ने कुनै रणनीतिक योजना सार्वजनिक गरिंदैन । शिक्षा दिवस मनाएको भोलिपल्टबाट नाराको महत्व बिर्सने परम्परा नै बनेको छ । यो अत्यन्त दुःखको कुरा हो । शिक्षाबाट वञ्चित रहेका वर्ग, समुदायसम्म शिक्षाको पहुँच पुग्नु अहिलेको आवश्यकता हो । त्यो आवश्यकतालाई दिवसले सम्बोधन गर्नुपर्छ । शिक्षा प्राप्त गर्नु हरेक नागरिकको विशेषाधिकार भित्र पर्छ । त्यसबाट बञ्चित गराउने छूट कसैलाई पनि छैन । आधारभूत मानव अधिकारका रुपमा समेत लिइने शिक्षा प्राप्तिको अधिकारको प्रत्याभूति हरेक देशमा समान हुनु अनिवार्य जस्तै छ । विश्वव्यापी तवरमै शिक्षाको गति बढाउनुपर्ने सन्दर्भमा राजनीतिक रुपमै त्यसलाई मूलधारमा ल्याएर शैक्षिक क्रियाकलापहरुलाई सक्रिय पार्नुपर्ने अहिलेको अवस्था हो । त्यो आवश्यकतालाई सम्बोधन गर्न सके मात्र शिक्षा दिवस मनाउनुको सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update