Shittalpati
सोनाम ल्होसार र पर्वले दिने सन्देश

नेपाल विविधताले भरिएको एक राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषाका मानिसहरु बस्छन् । उनीहरुहरुको आफ्नै सभ्यता र संस्कृति छ । फरक–फरक समुुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुने गर्दछ । सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसार हो ।

यसलाई उनीहरुले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । पुस, माघ र फागुन ल्होसार पर्वले रंगिने मास हुन् । प्रत्येक ल्होसारको शाब्दिक अर्थ र उपादेयतामा खासै विभिन्नता भने पाइन्न । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंसुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जसले ल्होसार पर्वको महत्व झन् बढाएको छ ।

यस अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने–दिने अनि शुभकामना आदान–प्रदान समेत गर्ने गरिन्छ । यस दिन राष्ट्रपति, प्रधानमन्त्री र नेताहरू तथा समाजका अगुवाहरूले समेत शुुभकामना सन्देश प्रवाह गर्ने गर्दछन् । जसले गर्दा यो पर्वको महत्व झन् बढेर गएको छ । हाम्रो चाहना पनि चाडपर्वमा सबैको अपनत्व होस् भन्ने नै हो । चाडपर्वहरूले नेपालीमा एकताभाव बलियो बनाउन र सहिष्णु प्रदान गर्न सक्नुपर्दछ । जतिसुकै सानो वा अल्पसंख्यक समुदायकै पर्व भए पनि त्यसले दिने सन्देश एउटै हुुन्छ । मुलुकलाई समृद्ध बनाउने अर्थतन्त्रले मात्रै होइन, जनताका चाडपर्व र संस्कृतिहरूले पनि हो । सांस्कृतिक समृद्धिको मूल्य आर्थिक समृद्धिका दाँजोमा झन् धेरै हुन्छ । तसर्थ सांस्कृतिक समृद्धिका लागि पनि सोनाम ल्होसार जस्ता पर्वहरूलाई अझै फैलन र विस्तार हुने मौका दिनुपर्छ । जसबाट मुलुक सांस्कृतिक रूपमा सम्पन्न र सहिष्णुताको धनी बन्न होस् ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update