Shittalpati
कोरोना संक्रमण  : विगतबाट पाठ सिकौं

विश्वभर फैलिएको कोरोना महामारी पछिल्लो केही दिन यता बढ्न थालेको छ । छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण बढ्दै गएपछि नेपालमा पनि त्यसको असर पर्न थालेको देखिन्छ । केही समय सहज बनेको कोरोना महामारी पुनः बढ्न थालेपछि त्रासको वातावरण सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमण बढ्न सक्ने भन्दै उच्च सर्तकता अपनाउन भनेको छ । मन्त्रालयले स्वास्थ्य सतर्कताका लागि गरेको अपिल ईच्छाधीनको विषय मात्र नभएर अनिवार्य छ । विगत वर्षहरुमा जस्तै भौतिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोग गर्ने कार्यमा पनि सजग हुनु आवश्यक भएको छ । मन्त्रालयले सेनिटाइजरको प्रयोगका साथै नियमित रूपमा साबुनपानीले हात धुन र कोभिड–१९ को बुस्टर डोज लगाउन सर्वसाधारणलाई अपिल गरेको छ । छिमेकी देशमा संक्रमण बढ्दै गएपछि नेपालले पनि स्वाथ्य सतर्कता अपनाउनु स्वाभाविक छ ।
ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ का केही केसहरु हालै भारतमा समेत देखापरिसकेका छन् । त्यहाँसमेत ठूलो चिन्ता व्यक्त भइरहेको अवस्थामा नेपाल त्यसबाट अछूतो रहन सक्ने कुरै भएन । यद्यपि, नेपालमा अहिलेसम्म पछिल्लो भेरियन्टका केसहरु पत्ता नलागे पनि कोरोनाबाट संक्रमित हुने क्रम भने अझै रोकिन सकेको छैन । नयाँ भेरियन्टलाई लिएर यहाँ खासै चासो र सरोकार समेत राखिएको छैन । यो अत्यन्त दुखको कुरा हो । अहिले पनि भारतसँगका सीमानाकाहरु निर्वाधरुपमा सञ्चालनमा छन् । खुल्ला सीमानाकाकै कारण विगतमा समेत भयावह अवस्था सिर्जना भएको हुँदा हाल भारतमा समेत देखापरिसकेकाले सावधानी अपनाउँदै निगरानी बढाउनुपर्ने आवश्यकता छ । त्यसमा तीनै तहका सरकारले चासो देखाउनुुपर्दछ । यति मात्र होइन सरकारले खोपलाई पनि थप विस्तार गर्नुको विकल्प छैन । आम नागरिकले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै उच्च सर्तकता अपनाउनुपर्छ । विगतबाट पाठ सिकेर सबैले स्वास्थ्य मापदण्डहरुलाई प्रभावकारीरुपमा अनुसरण गर्न सकियो भने संक्रमणबाट केही हदसम्मभ भएपनि बच्न सकिन्छ । यसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update