Shittalpati
मानव अधिकार दिवस र यसको सार्थकता

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइंदैछ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले यस बर्षको दिवसको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने तय गरेको छ । लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हनन्का घटनाहरु भए । युद्वका घाउमा मल्हम लगाउने काम अहिलेसम्म पनि हुन सकिरहेको छैन ।
मानव अधिकारलाई नैसङ्र्गिक एवं मौलिक अधिकारका रूपमा विश्वभरि स्वीकार गरिनुका साथै मानवीय मूल्य र मान्यतालाई हरेक सभ्य समाजले स्वीकार गरेको छ । विश्वमा ठूूल्ठूला क्रान्ति र घटनासहित परिवर्तन आएको दावा गरिए पनि मानव अधिकारका क्षेत्रमा भने खासै परिवर्तन आएको देखिदैन । यो अत्यन्तै दुःखको कुरा हो । आर्थिक विकास भयो भनियो तैपनि मानिसहरूमा कुपोषण व्याप्त छ, औषधोपचार नपाउँदा अकालमा मर्नु परेको छ । भोक, रोग मान्छेको नियती बनेको छ । भय र अभावमा उनीहरू बाँच्न विवश छन् । यस्ता समस्याबाट समाजलाई मुक्त गर्न तथा न्यूनीकरण गर्ने प्रयासले सार्थकता पाउन सकेको छैन । यसका लागि सरकार संवेदनशिल बन्न आवश्यक छ । वास्तवमा मानव अधिकार दिवसलाई एउटा उत्सवको रूपमा मात्र हेरिदैन । यो दिवस भनेको हामीले मानव अधिकारप्रति जाहेर गरेका प्रतिवद्धतालाई कति जवाफदेही रूपमा सम्बोधन गर्न सक्यौं यसको समीक्षा गर्ने दिन पनि हो । मानव अधिकारको संरक्षण, संवद्र्धन र सम्मानको मूल आधार भनेको दण्डहीनताको अन्त्यप्रति राज्य जवाफदेही हुनु हो । त्यसैले यस अवसरमा मानव अधिकारको सम्मानका लागि राज्य दण्डहीनताको अन्त्य तथा न्याय सुनिश्चितताका लागि कति जवाफदेही भयो, यसको लेखाजोखा गरी आम नागरिकलाई मानव अधिकारको प्रत्याभूत दिलाउन आवश्यक छ । यो गर्न सकियो भने मात्र मानव अधिकार दिवस मनाउनुुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update