Shittalpati
एड्स दिवसको सार्थकता

विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । हरेक वर्षको डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा करिब ३५ वर्ष अघिदेखि नै यो दिवस मनाइँदै आइएको हो । नेपालमा सन् १९८८ मा पहिलो एड्स संक्रमित भेटिएको प्रमाण छ । त्यसपछिको क्रममा क्रमशः एचआइभी संक्रमितहरुको संख्या भने देशमा बढ्दै आएको देखिन्छ । हाल विश्वभरि नै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको एचआइभी पीडितहरुको अवस्थामा विगत केही समययता क्रमिकरुपमा सुधार आइरहेको छ । तर एड्सका कयौं पक्षहरुलाई अझै पनि गहिरोरुपमा सम्बोधन गर्न सकिएको छैन । एचआइभी संक्रमणको अन्तिम अवस्थाको रुपमा लिइने एड्सलाई लिएर देखिने व्यवहार भने अझै पनि अनुकरणीय बन्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । हाल नेपालमा एचआइभीबाट संक्रमित भएकाहरुको संख्या करिब ३० हजारको आसपासमा छ । तर, दर्ता नभएकाहरुको संख्यालाई आकलन गर्ने हो भने त्योभन्दा धेरै रहेको हुन सक्ने कुरा सर्वविदितै छ । त्यसमा पनि एआरभीको उपचार सेवा पाउनेहरुको संख्या भने एकदमै नगन्य मात्रामा रहेको देखिन्छ । गरिबी र अशिक्षाका कारण धेरै संक्रमितहरु खुल्न नचाहेका कारण पनि संख्या नगन्य देखिएको हो । एड्सजस्तो घातक रोगप्रति देखिनुपर्ने जुन प्रकारको सचेतना हो त्यसमा भने निकै नै कमी आइरहेको प्रतित हुन्छ । नेपालमा हरेक वर्ष एड्स दिवस मनाइन्छ तर त्यो औपचारिकतामा मात्र सिमित बन्न पुगेको छ ।
सरकारी निकायसँगै मानव स्वास्थ्यका विषयमा काम गर्ने भनिएका सबैजसो एनजीओ, आइएनजीओहरूले प्राथमिकता दिएर दिवसका दिन कार्यक्रमहरु गर्छन् । एचआईभी संक्रमण नियन्त्रण र रोकथामका लागि वर्षेनी अर्बौं रकम खर्च हुन्छ । ठूला होटल र रिसोर्टहरुमा गोष्ठी र सेमिनार हुन्छ । तिनैलाई आधार बनाएर प्रतिवेदन प्रस्तुत गरिन्छ । तर गाउँ, बस्ती अनि एचआईभी संक्रमणले सताइएका ठाउँमा कार्यक्रमले प्रथमिकता पाउँदैन । वास्तविक संक्रमितहरू अझै पनि समस्याको गुजुल्टोभित्र लुट्पुटिएका छन् र तिनीहरूको झुपडीमा तारे होटलका गोष्ठी र सेमिनारमा प्रस्तुत भएका प्रतिवेदन र प्रगति विवरणको प्रभाव पर्दैन । रोजगारीका लागि भारत वा तेस्रो मुलुक गएका व्यक्तिले ल्याएको संक्रमण होस् वा दुव्र्यसनीमा परेकाले बढाएको संक्रमण, विविध कारणले नेपालमा एचआईभी संक्रमण बढ्दो छ । जसका कारण मानिसहरूको मृत्यु अकालमा भइरहेको छ । यसर्थ वास्तविक संक्रमितहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न सके मात्र दिवस मनाउनुुले साथर्कता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्ने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update