 
                                                                    पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना विजयी भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि राना मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा पुगेका हुन् ।
उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुग्दै आफुलाई विश्वास गरेर विजयी बनाएकोमा धन्यवाद दिएका छन् । साथै उनले चुनाव–प्रचारका क्रममा गरेका प्रतिवद्धता पूरा गर्ने समेत मतदाताहरु समक्ष प्रतिवद्धता व्यक्त गरेका छन् । रानाले चुनाव प्रचारका क्रममा मतदातासँग बोलेका कुरा पूरा गर्न पछि नहट्ने प्रतिवद्धता जनाउँदै सधँै जनताको सेवामा तत्पर रहने बताए । रानाले मंगलबार तानसेनका वडा नं १३, १४ का अर्गेली, कुसेनी, रिडी, छेर्लुङ्ग, केरवादी, भैवस्थान, बौगागुम्हा लगायतका स्थानमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् ।
मन्त्री रानाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँ–गाउँ पुगेको बताए । उनले भने ‘हामी भोट माग्न खेतबारीदेखि घर–गोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि ग¥यौँ होला, अब धन्यवाद सहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दैछौँ, पहिले मत माग्यौँ, अब मतदाताको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ ।’ उनले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताए । मन्त्री रानाले भने ‘आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साटिरहेका छौं ।’ उनले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताए । घरदैलोमा नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरे, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मुक्तिराम जिसी, काँग्रेस जिल्ला सदस्य गीता भट्टराई, कमल राना, वडा सभापतिहरु किशोर भट्टराई, दधिराम न्यौपाने लगायतका नेताहरु पनि मन्त्री रानासँगै पुगेका थिए । विजयी भएपछि घर–घरमा पुगेका रानासँग मतदाताले आ–आफ्ना गाउँ ठाउँका समस्या राखेका थिए । सोही अवसरमा मन्त्री रानाले अर्गेली बहुमुखी क्याम्पसको १६ औं स्थापना दिवस तथा अभिभावक भेलालाई पनि सम्बोधन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई व्यसायिक र सीपमूलक बनाउने दिशामा प्रदेश सरकार लाग्ने बताएका छन् ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    