Shittalpati
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ?

हाम्रा संवाददाता
पाल्पा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको निर्वाचनका लागि आज मध्यरातदेखि प्रचार गर्न नपाइने भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था अनुरुप राती १२ बजेदेखि चुनाव प्रसार गर्न नपाइने भएको हो ।

आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचार–प्रसारमा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । निषेधित समयलाई मौन अवधि भन्ने गरिन्छ । यो समयमा कुनै प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ । राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचार र कुनै पनि कार्यक्रम गर्न पाउदैनन् । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ । उक्त अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइदैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटक लगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरिसकेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ । बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि नाका बन्द गरिएको हो । मतदान सकिएपछि मात्रै नाका खुला गरिने छ ।चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने भएको छ । आयोगले सवारी आवागमनलाई सहज बनाउन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने जनाएको छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको छ । यस्तै सूचना तथा प्रशारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन, खानेपानीको ट्याड्ढर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारी साधनका लागि पनि अनुमति लिनुपर्दैन । आयोगका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटका सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनलाई पनि अनुमति आवश्यक छैन । अनुमति दिएका सवारी साधनले मतदाता ओसारपसार गर्न भने नपाउने आयोगले प्रष्ट पारेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update