Shittalpati
सिद्धार्थ राजमार्गको सडक भासियो

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिएको छ । विहीबार निरन्तरको वर्षापछि यहाँको ४० मिटर सडकको अधिकांश भाग भासिएको हो ।

पूर्ण रूपमा यातायात सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्ने छ । यहाँ अपराह्न ४:३० बजेपछि यातायात पूर्ण रुपमा बन्द रहेको छ ।

हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा रहेको र यस सडक खण्ड हुँदै अत्यधिक भार भएका सवारी साधन सञ्चालन हुँदा सडक भासिने गरेको छ । यहाँ केही वर्षअघि सडक भासिएको थियो । अहिले सडक भासिएपछि बुटवलबाट पाल्पा आउने र पाल्पाबाट बुटवल जाने सवारी साधन र यात्रु हिउँदे खोलामै रोकिएका छन् । सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले सडक खुलाउने प्रयास गरेको जनाएको छ । यो खण्डमा वर्षायाममा दर्जनौं स्थानमा ठूला चट्टानसहितको पहिरो जाने गर्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update