Shittalpati
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा

रामचन्द्र रायमाझी
पाल्पा, सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ लाई तोकेसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोड–घटाउ सुरु भएको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेकोे यहाँ पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ अनुहारका उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् ।

२०७४ मा भएको निर्वाचनमा दुवै क्षेत्र जितेको नेकपा एमालेलाई गठबन्धनका कारण यस पटक भने विगतको विरासत जोगाउने चुनौती थपिएको छ । क्षेत्र नम्बर १ बाट एमालेका दलबहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर अहिले भने परिस्थिति बदलिएको छ । त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा एमालेले दुवै सिटमा जित हासिल गरेको थियो । तर अहिले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । समाजवादीमा एमालेका प्रभुत्व व्यक्तिहरु छन् । त्यति मात्र होइन समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी सहितको गठबन्धनका कारण यस पटकको निर्वाचन एमालेका लागि ठूलो चुनौती बन्ने देखिएको छ । गठबन्धन र नेकपा एमाले बिच नै मुख्य प्रतिस्प्रर्धा हुनेभएपछि पाल्पामा यि दलबाट कसले उम्मेदवारी पाउन्छ भन्नेमा सबैको चासो छ ।

क्षेत्र नं. २ मा विशेष चासो

अहिले क्षेत्र नम्बर २ लाई विशेष चासोका साथ हेरिएको छ । यसअघि भएका पटक–पटकका निर्वाचनमा एमालेबाट सोमप्रसाद पाण्डेयले जित्दै आए पनि अहिले उनी नेकपा एकीकृत समाजवादीमा छन् । उनी सोही पार्टीबाट गठबन्धनका उम्मेदवारका रुपमा प्रतिनिधिसभा निर्वाचनमा उत्रने तयारी समेत गरेका छन् । तर गठबन्धनले टुँगो भने लगाइसकेको छैन् । गठबन्धनबाट नेपाली काँग्रेसका वीरबहादुर राना, हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालको नाम चर्चामा छ । समाजवादीले भने सोमप्रसाद पाण्डेलाई नै अघि सारेको छ । गठबन्धनबाट कुन दलले टिकट पाउँछन् अहिले नै आंकलन गर्न सकिदैन । तर स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने गठबन्धनबाट नेपाली काँग्रेसले पाउने देखिन्छ । माधव नेपाल सोम प्रसादका सम्धी भएकाले टिकट उनैले पाउन सक्ने विश्लेषण पनि केहीले गरेका छन् । तर क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको भागमा परेमा बलियो जनमत भएका वीरबहादुर रानाले टिकट पाउने सम्भावना प्रवल छ । उनी पार्टीका निवर्तमान जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेशको सिंचाई मन्त्री समेत हुन् । राना पछिल्लो समय पाल्पामा बलियो उम्मेदवार मानिन्छन् । उनी जिल्लाको पार्टी नेतृत्वमा रहँदा होस् वा प्रदेश सांसद हुँदा नै किन नहोस् पाल्पाली जनतासँग निकट रहेर काम गर्दै आएका छन् । राना नेतृत्व गर्न सक्ने खुवी र क्षमतावान् नेता हुन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेबाट सोमप्रसाद पाण्डेले ३४ हजार ८ सय ९९ मत ल्याउँदै काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरेका थिए । नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका थिए । उता, एमालेबाट युवा नेता ठाकुर गैरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीइओ सुशील ज्ञवालीको नाम चर्चामा छ । युवा नेता गैरे पछिल्लो समय कार्यकर्तामाझ लोकप्रिय छन् । स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन गैरेको ठूलो हात छ । ज्ञवालीको भने केन्द्रमा राम्रै सम्बन्ध भए पनि जिल्लामा त्यस्तो छैन ।

यस्तै क्षेत्र नम्बर १ यस अघि एमालेले जितेको क्षेत्र हो । यहाँ एमालेबाट दलबहादुर रानाले २०७४ को निर्वाचनमा ३२ हजार ५ सय ४९ मत ल्याएर नेपाली काँग्रेसका विजय घिमिरेलाई हराएका थिए । रानासँग पराजित भएका घिमिरेले २३ हजार ९ सय ९३ मत ल्याएका थिए । अघिल्लो निर्वाचनमा निर्वाचित राना फेरि पनि उम्मेदवार बन्ने तयारीमा छन् । उनीसँगै एमालेबाट राधाकृष्ण कँडेल र नारायणप्रसाद आचार्यको पनि चर्चा छ । कंडेल २०७० को संविधानसभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए । उनी अहिले एमालेको लुम्बिनी प्रदेश इञ्जार्जसमेत हुन् । यस्तै, आचार्य सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) बाट २०७४ मा प्रदेश सांसदमा निर्वाचित भएका हुन् । उनी एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हुन् । यस कारण पनि यहाँ एमालेलाई उम्मेदवार छनोटमा सकस देखिएको छ । यस्तै गठबन्धनबाट काँग्रेसका ज्ञानबहादुर गाहा, देवराज ढकाल, दानबहादुर पछाई र सन्दीप रानाको चर्चा छ । गाहा नेपाली काँग्रेसको पाल्पा जिल्ला उपसभापति हुन् भने ढकाल पार्टीको पूर्व जिल्ला उपसभापति हुन् । पछाई र राना महाधिवेशन प्रतिनिधि हुन् । संघको निर्वाचनमै आकांक्षीहरु धेरै देखिएकाले यहाँ प्रदेश सभाको निर्वाचनमा भने आंकाक्षी खुलेका छैन् ।

यस्तो छ अंकगणित

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट एमालेले १० स्थानीय तह मध्ये ६ वटा पालिका हात पारे थियो । जहाँ क्षेत्र नं. १ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७ सय ७१ मत पाएका थिए । यस्तै नेपाली काँग्रेसकाले २७ हजार १ सय ५०, माओवादीकाले एक हजार १ सय ६४ मत पाएका थिए । क्षेत्र नं. २ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३० हजार ५ सय ३६, नेपाली काँग्रेसकाले २९ हजार ३९, माओवादीकाले ४ हजार ३ सय १३ र नेकपा एकीकृत समाजवादीकाले ४ सय ३३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update